काठमाण्डौं । खोटाङ गुरुङ तमु सेवा समाज काठमाडौंको को युवा समूह खोटाङ गुरुङ (तमू) युवा समूहको आयोजनामा प्रथम राष्ट्रिय तमू भेडा कप २०८२ फुटबल प्रतियोगिता हुनेभएको छ । आगामी असोज ३ गतेदेखि ६ गतेसम्म काठमाडौंको कपनको ह्यान्डबल ग्राउन्ड, आकाशेधारामा हुने प्रतियोगिताको तयारी लगभग पुरा भएको, आयोजकले जनाएको छ ।
“हाम्रो सम्पूर्ण तयारी पूरा भएको छ।”, समूहका अध्यक्ष संगीत गुरुङले गोर्खा खबरसँग फोनमा भने, “खेलकुदका साथै गुरुङ समुदायको संस्कृति, एकता र सद्भाव झल्काउने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गरिएको हो ।”
उनका अनुसार हेर्नका लागि सम्पूर्ण जातजाती, समुदाय र समूहका खेलाडी, खेलकुदकर्मी, खलेप्रेमी तथा शुभेच्छुकलाई निमन्त्रणा गरिए पनि प्रतियोगितामा जिल्लाका गुरुङ खेलाडीलाई मात्र मान्य गरिनेछ ।
समाजका अध्यक्ष होमनाथ गुरुङका अनुसार, प्रतियोगितालाई केवल फुटबल मात्र नभई युवा शक्ति, खेलप्रेम र संस्कृतिको संगमका रूपमा हेरिएको छ । यो प्रतियोगिताले भविष्यमा उत्कृष्ट राष्ट्रिय खेलाडीहरू उत्पादन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास अध्यक्ष गुरुङको छ।
समाजका प्रमुख(प्रचार प्रसार बिभाग प्रमुख रूपन काजी गुरुङले विजय वा पराजयभन्दा पनि खेलाडीहरूमा अनुशासन, मित्रता, भाइचारा र एकताको भावना विकास गर्नु नै प्रतियोगिताको ठूलो उपलब्धि रहेको बताए । उनले यस प्रतियोगितालाई राष्ट्रिय गौरवको महोत्सवका रूपमा मनाउन सबै गुरुङ दाजुभाइ तथा खेलप्रेमीहरूलाई आग्रह गरेका छन्।
प्रतियोगितामा सहभागी हुन चाहने टिमले भदौ २७ गतेसम्म टिम दर्ता गरिसक्नुपर्नेछ। दर्ता शुल्क ९,९९९ रुपैयाँ तोकिएको छ। आयोजकले आ आफ्नो समाज वा जिल्लाको प्रतिनिधित्व गर्दै खेलाडीहरूलाई सहभागी गराई प्रतियोगिताको गरिमा बढाइदिन विनम्र अनुरोध गरेको छ।
विजेताले एक लाख, उपविजेताले ५० हजार र तेस्रो स्थानले २५ हजार नगदसहित, ट्रफी, मेडल तथा प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।
थप जानकारीका लागि सम्पर्क नम्बर ९८४९९०६०३३ र ९७६९०२३७९७ मा फोन गर्न सकिने, आयोजकले अनुरोध गरेको छ।
