इटहरीमा चौथो कोशी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने
इटहरी
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सुनसरीको इटहरीमा प्रादेशिक स्तरको बृहत् खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ। सरस्वती जब्दी तेक्वान्दो डोजाङ (इटहरी-१६, सुनसरी) को आयोजनामा आगामी जेठ ३० र ३१ गते (२०८३) दुई दिवसीय “चौथो कोशी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता २०८३” सञ्चालन हुन लागेको हो। यो प्रतिष्ठित प्रतियोगिता इटहरी रंगशालाको खेल मैदानमा आयोजना हुनेछ।
यस खेल उत्सवबारे जानकारी दिँदै प्रख्यात तेक्वान्दो गुरु, कुशल कार्यक्रम प्रस्तोता/उद्घोषक (Host) तथा सामाजिक व्यक्तित्व विष्णु श्रेष्ठले प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको बताउनुभएको छ।
खेलकुद क्षेत्रका साथै आदिवासी जनजाति युवा महासंघ, नेपाल इटहरी उपमहानगर समिति लगायत अन्य विभिन्न सामाजिक संघ-संस्थामा समेत सक्रिय रूपमा आबद्ध रहनुभएका गुरु विष्णु श्रेष्ठले यस प्रतियोगितालाई भव्य रूपमा सफल पार्न राज्य र समाजका सबै पक्षसँग आह्वान गर्नुभएको छ।
