सुनसरी, श्रीपुर: सुनसरीको श्रीपुरमा सशस्त्र प्रहरी बल, नेपालको नयाँ भवन एक समारोहका बीच उद्घाटन गरिएको छ। सोमबार आयोजित उक्त समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले भवनको उद्घाटन गर्नुभयो।
कार्यक्रममा सुनसरीस्थित सशस्त्र प्रहरीको ४ नम्बर गण हेडक्वार्टरका उपरीक्षक निर्मल थापा, कोशी गाउँपालिका अध्यक्ष अयुब अन्सारी, जग्गादाता सविता यादव, सञ्चारकर्मी तथा स्थानीय जनप्रतिनिधिलगायतको उपस्थिति थियो।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि न्यौपानेले समुदाय र सुरक्षाकर्मीबीचको आपसी सहकार्यलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी सधैँ अग्रपंक्तिमा रहने उल्लेख गर्दै स्थानीय स्तरमा विश्वासिलो सुरक्षाको वातावरण बनाउन सबैलाई आग्रह गर्नुभयो।
पाँच कठ्ठा क्षेत्रफलमा निर्माण भएको यस भवनको कुल लागत १ करोड ४६ लाख ७,८७५ रुपैयाँ रहेको ४ नम्बर गण सुनसरीका उपरीक्षक निर्मल थापाले जानकारी गराउनुभयो।
