बाढी र डुबान बारे वडा अध्यक्ष मणीराम श्रेष्ठको यो तरिका, स्थानीयले गरे प्रशंसा

0
Maniram shrestha (1)

सरोकारवाला पक्षहरूसहित छलफलबाट निकास निकाल्नका लागि आफूहरूले प्रयास गरेको वडाध्यक्ष मणीराम श्रेष्ठले बताउनुभयो ।

तरहरा । इटहरी उपमहानगरपालिका वडा नम्बर २० ले वर्षायाम नजिकिँदै गर्दा प्रत्येक वर्ष हुने बाढी र डुबानको क्षति न्यूनीकरण र अतिक्रमण बारे आज बिहान तारकेश्वोर शिवालय मन्दिरमा सर्वपक्षीय छलफल गरेको छ ।

पानीपियादेखि जनसहयोग स्कुल हुँदै बग्ने खोलाको संरक्षण, व्यवस्थापन तथा अतिक्रमण बारेको समाधानका विषयमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक अगुवा तथा स्थानीय युवाहरूको सहभागितामा एक बृहत् छलफल सम्पन्न भएको हो ।

सरोकारवाला पक्षहरूसहित छलफलबाट निकास निकाल्नका लागि आफूहरूले प्रयास गरेको वडाध्यक्ष मणीराम श्रेष्ठले बताउनुभयो ।

“खोला क्षेत्रको व्यवस्थापन गर्ने क्रममा बजारका स्थापित घर र नागरिकको बसोबास भत्काउने, हल्ला गर्ने र त्रास फैलाउने काम होईन, सर्वपक्षीय छलफल हो ।”, वडाध्यक्ष श्रेष्ठले स्पष्ट पार्दै भन्नुभयो, “बनिएका घर वा नागरिकको बसोबास भत्काएर कसैलाई विस्थापित गर्ने वा दुःख दिने नभई प्राकृतिक बहावलाई नरोकी पानीलाई आफ्नै गतिमा बग्न दिनु र वर्षायाममा हुने बाढीको जोखिमबाट सिंगो वडाबासीलाई बचाउने बारे छलफल हो ।”

नागरिकलाई त्रसित पार्नेगरि कुनै काम नहुने र आफूहरूको उद्देश्य त्यो नभएको, उहाँको कथन थियो ।

“नागरिकलाई कुनै मानसिक तनाव, अनावश्यक हल्ला र त्रास फैलाएर होइन ।”, श्रेष्ठले थप स्पष्ट पार्नुभयो, “बरु उत्तम विकल्पहरूको खोजी गर्दै सकारात्मक ढंगले यो समस्याको समाधान कसरी गर्न सकिन्छ ? यसबारे सरोकारवला र स्थानीय अगुवा, राजनीतिक दल, सामाजिक संघसंस्थाका प्रतिनिधी एवम् युवाहरुसँग छलफल गरिएको हो ।”

छलफलका क्रममा खोला क्षेत्रको अतिक्रमणका विषयमा बेलैमा ठोस कदम नचालिए र अतिक्रमणलाई यसै छाडिने हो भने बाढी र डुबानको समस्या कहिल्यै समाधान नहुने तर्फ सबै पक्ष सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।

वडाध्यक्ष श्रेष्ठले यो वर्षौँदेखिको दीर्घकालीन समस्या भएकाले यसलाई कुनै दबाब वा त्रासमा नभई कानुनी र प्रक्रियागत रूपमा नै समाधान गरिनु पर्ने र यसका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

वडाध्यक्ष मणीराम श्रेष्ठको यस कदम र सकारात्मक नेतृत्वलाई स्थानीयबासी, युवा तथा राजनीतिकरसामाजिक अगुवाहरूले उच्च प्रसंशा गरेका छन् । स्थानीय सरकार नै आफ्नो वास्तविक अभिभावक भएको उल्लेख गर्दै स्थानीयबासीले जनतालाई समस्यामा पार्ने नभई समस्याको उचित समाधान निकाल्ने र आवश्यक परेमा उचित व्यवस्थापनको जिम्मेवारी राज्यकै भएको धारणा राखे ।

वर्षायाम सुरु हुनै लाग्दा वडाले सुरु गरेको यो पूर्वतयारी र जनप्रतिनिधिको जिम्मेवारपूर्ण संवादको शैलीले स्थानीयबासीहरूमा त्रास हटेको छ भने समस्याको दीर्घकालीन निकास निस्कनेमा सबै पक्ष आशावादी देखिएका छन् ।

तस्वीर स्रोतः बहादुर तामाङ, वडा सदस्य, फेशबुकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *