आत्मनिर्भर बनाउने मिलनको सपना

0

“वैदेशिक लगानी स्वदेशी उत्पादन, कृषिमा हाम्रो अभियान” नाराका साथ चार वर्ष अगाडिदेखि बाजुङ गाउँमा कृषि फर्म सुरु

Hong Kong Durga Ghotane Gurung

खिमा गुरुङ बाजुङ, पर्वत

कोही ब्यक्ति बाल्यकालदेखि नै आत्मनिर्भर बन्ने सपना देख्दछ र त्यो सपना पूरा गर्न जीवनका हरेक पाइलामा संघर्ष गर्छ । तब त्यो सङ्घर्षलेमात्र उपलब्धि हुँदैन ।  त्यो त हजारौं युवाका लागि प्रेरणा र आत्मनिर्भर बनाउने एउटा गतिशील उदाहरण बन्दछ। हाे ! त्यही सपनाका सारथि बन्दैछन्-पर्वत ५ बाजुङ फलाल्नेमा जन्मिएका समाजसेवी दुर्गा गुरुङ “मिलन” । हाल हङकङमा कार्यरत हुनुहुन्छ । मिलन ग्रुप अफ नेपाल नामक सामाजिक संस्था अन्तर्गत उहाँले डेढ दर्जन संस्थाद्वारा सामाजिक कार्य र कृषि अभियान चलाउनु भएको छ । उहाँको  मिहिनेतले अहिले सबै बाजुङ फलाल्नेबासीलाई आत्मनिर्भर बनाउन आधुनिक कृषि अभियान सुरु गरेको छ। “वैदेशिक लगानी स्वदेशी उत्पादन, कृषिमा हाम्रो अभियान” नाराका साथ चार वर्ष अगाडिदेखि बाजुङ गाउँमा उहाँले कृषि फर्म सुरु गर्नुभएको छ।

करिब ४५ रोपनी जग्गामा कृषि फर्म सञ्चालन गरी कृषि उत्पादनमा लगानी गरिरहनु भएको छ । कृषिबाटै नेपालीलाई आत्मनिर्भर बनाउन सकिन्छभन्ने सन्देश दिन आफूले यस क्षेत्रमा लगानी गरेको उहाँ बताउनु हुन्छ। दुर्गा गुरुङ “मिलन” का अनुसार हालसम्म पूरै फर्ममा सिमेन्टेड पर्खाल, ढुंगेधारा, माछापोखरी, तालिम केन्द्र भवन र पशुपंक्षीका लागि खोर निर्माण गर्दा करिब ६० लाख रुपैयाँ लगानी लागेको छ ।  जसमा चारवटा फर्महरु रहेका छन् :- १) आयुग अर्गानिक कृषि फर्म :- जहाँ  सुन्तला, धान, गहुँ,कोदो, फापर, मकै, भटमास, भागो, सिमी, बोडी, अखबरी, डल्ले खुर्सानी उत्पादन गरिन्छ । २) आर्य आर्गानिक फर्म :- यसमा अलैची, निगुरो, मौसमी, जैविक तरकारी, रुख टमाटार, तिते भेन्टा आदि लगाइएको छ । ३) मिलन कृषि तथा पशुपंक्षी फर्म:- विभिन्न जातका कुखुरा, भैंसी, बाख्रा, माहुरी, माछा, राजहाँस, कालिज, लोकल हाँस, लुँइचे, जुत्ते र तालु खुइले कुखुरापालन गरिएको छ । ४) मिलन किबी फर्म :- किवी, टिमुर, बेसार,अदुवा, आलु, सिमी, बोडी, साग सब्जी, टमाटर आदि लगाउने गरिन्छ । यसबाट बाजुङ गाउँबासी कृषिमा आत्मनिर्भर बन्ने प्रयासमा लागेको देखिन्छ।

गुरुङको यो कृषि अभियानलाई फलान्ने गाउँवासीले निकै साथ दिएका छन्। प्राकृतिक छटाले भरिएको एकदमै सुन्दर स्थानमा रहेको फलाल्ने गाउँबासीको दिन कृषि कर्ममा दत्तचित्त भएर बितेका छन्। युवा वर्ग गाउँ सुनसान पारेर  विदेश पलायन हुन थालेपछि गाउँवासीहरू कृषि अभियानमार्फत् तिनलाई स्वदेश फर्काउने अभियानमा लागेका हुन् । मिलन कृषि तथा पशुपंक्षी फर्मका सुपरभाइजर तारा दर्जीले हाल लगानी अनुसार उत्पादन भइरहेको बताउनुभयो । अझै उत्पादन राम्रो भएमा गाउँको अर्गानिक खानेकुरा पातिचाैर वा पोखरासम्म पुर्याउने योजना रहेको बताउनुभयो । कृषि देशको मेरुदण्ड भएकोले विभिन्न तहको सरकारले यसमा विशेष अनुदानको व्यवस्था मिलाउन पर्दछ, उहाँ भन्नुहुन्छ । सुस्मिता परियारले जस्तै गाउँमा धेरैले रोजगारी पाएका छन् । गाउँमै रोजगार पाउँदा सुस्मिता खुशी हुनुहुन्छ । सबै फर्म हेरचाह उहाँले नै गर्नुहुन्छ । बेलाबेलामा कृषिविज्ञ् होम बहादुर थापामगरले कृषि सम्बन्धि आवश्यक सरसल्लाह र तालिम पनि दिदै आउनुभएको छ । त्यसैले उत्पादन राम्रो भएको छ । बालीनाली सप्रेका छन् ।

कृषि फर्म संचालन गरि उत्पादन बढाएर गाउँवासीलाई आत्मनिर्भर बनाउने अभियानमा हुनुहुन्छ दुर्गा गुरुङ “मिलन” । अहिलेसम्म राम्रो सफलता मिलेको छ, केही समयमा स्वदेश फर्कन्छु, उहाँ भन्नुहुन्छ । पोखरादेखि बाग्लुङ हाइवे हुँदै पातीचौरसम्म जिपमा करिब १ घण्टामा पुग्न सकिन्छ। त्यहाँबाट त्यस्तै १ घण्टा जिपमा कच्ची बाटोको यात्रा गरेपछि पर्वतको बाजुङ फलाल्ने गाउँ पुगिन्छ। निकै उर्वरभूमि भएकोले सबै गाउँबासीले खेतीपाती लगाएका छन् । कहिँ रहर लाग्दा काँक्राहरु झुन्डिरहेका छन् त कहिँ किवी हुर्किरहेका छन् । हेर्दा लाग्दछ कि काँक्रा जस्तै झुण्डिएका होलान् किसानका सपनाहरू र किवी जस्तै हुर्किँदै होलान् किसानका जीवित इच्छाहरु ।

सञ्चार, साहित्य तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएका सञ्चारकर्मी गुरुङ पोखरास्थित गोर्खाली रेडियोकी स्टेशन प्रमुख हुनुहुन्छ । -सम्पादक

Leave a Reply

Your email address will not be published. Required fields are marked *