प्रमुख जिल्ला अधिकारीले रिपोर्टिङमा अवरोध गरेपछि प्रेस स्वतन्त्रतामाथि प्रश्न

0
cropped-Gurkha-Khabar-MastHead.png

मोरङ: मोरङको सुन्दरहरैँचास्थित गछिया खोलामा निर्माण गर्न लागिएको क्रसर उद्योगको अनुगमनका क्रममा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सार्वजनिक स्थलमा रिपोर्टिङ गरिरहेका पत्रकारहरूलाई भिडियो खिच्न रोकेको घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्नचिन्ह खडा गरेको छ।

आइतबार स्थानीय, क्रसर सञ्चालक, जिल्ला समन्वय समिति प्रमुख अजम्बर राई र नगर प्रमुख केदार गुरागाईलगायतका सरोकारवालाहरूको उपस्थितिमा भएको छलफलको दृश्य खिच्ने क्रममा प्रजिअ यादवले ‘भिडियो नबनाउनु’ भन्दै पत्रकारहरूलाई अवरोध गरेका थिए।

घटनास्थलमा पुगेका नेपाल पत्रकार महासंघ मोरङका सहसचिव रेवतीरमण निरौला (मोरङ खबर), विकल पौडेल (विराट टेलिभिजन), मनोज भुजेल (न्यूज २४ टेलिभिजन) र कृष्णचन्द्र सुवेदी (पूर्वी अनलाइन) लाई यसरी रिपोर्टिङमा रोक लगाइएको थियो।

सार्वजनिक चासोको विषयमा भएको सरकारी अनुगमनको रिपोर्टिङमाथि प्रजिअले गरेको हस्तक्षेपलाई पत्रकार महासंघले आपत्तिजनक बताएको छ।

नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकले सार्वजनिक स्थानमा भएको घटनाको रिपोर्टिङ रोक्नुलाई सूचनाको हक र प्रेस स्वतन्त्रताको मर्मविपरीत भएको बताउनुभयो। उहाँले राज्यको महत्त्वपूर्ण पदमा बसेका व्यक्तिले यस्ता व्यवहारलाई सच्याउनुपर्नेमा जोड दिनुभयो।

यस घटनाले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको जवाफदेहिता र प्रेसको स्वतन्त्रताको अधिकारबीचको सम्बन्धलाई बहसको विषय बनाएको छ।

सार्वजनिक हितका लागि गरिने रिपोर्टिङमा अवरोध हुनुले पारदर्शिता र लोकतान्त्रिक मूल्यमाथि नै आघात पुग्ने चिन्ता बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *