मितज्यूुको हङकङमा पाथीभरा इन्टरटेनमेन्टद्वारा अनाथ बालबालिकाको सहयोगार्थ भव्य च्यारिटी शो
यस ग्रुपले नेपालको इटहरी र तरहरा क्षेत्रमा निःशुल्क खानेपानी वितरण (Water ATM) तथा धरानका मेयर हर्क साम्पाङको अभियान अन्तर्गत संसद पार्कमा गेट निर्माण जस्ता कार्यहरूमा आर्थिक तथा भौतिक सहयोग पुर्याइसकेको छ।
विगत लामो समयदेखि हङकङलाई कर्मथलो बनाएर नेपाली कला, संस्कृति र चलचित्र क्षेत्रको प्रवर्द्धनमा सक्रिय रहँदै आएको पाथीभरा इन्टरटेनमेन्ट ग्रुपको आयोजनामा पछिल्लो समयकै बहुप्रतीक्षित नेपाली कथानक चलचित्र मितज्यूको हङकङ स्थित यामताई कम्युनिटी हलमा भव्य प्रदर्शन सम्पन्न भएको छ।
हङकङ, यामताई। गोर्खा खबर
मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वलाई मुख्य उद्देश्य बनाएर आयोजना गरिएको उक्त विशेष प्रदर्शन (च्यारिटी शो) बाट संकलित रकमको निश्चित प्रतिशत नेपालका अनाथ, असहाय तथा अभिभावकविहीन बालबालिका र जेहेन्दार विद्यार्थीहरूको शिक्षा र सहयोगका लागि प्रदान गरिने आयोजकले जनाएको छ।
विगत १० वर्षदेखि निरन्तर निस्वार्थ रूपमा सहकार्य गर्दै आएको पाथीभरा इन्टरटेनमेन्ट ग्रुपका पदाधिकारीहरूले आफूहरूले गर्ने सामाजिक कार्यलाई मिडिया र चर्चाभन्दा टाढा राख्न रुचाउने बताएका छन्।
पत्रकार दिलिप राईसँग कुराकानी गर्दै आयोजक टिमले आफूहरूले विगतका दिनहरूमा पनि नेपथ्यबाटै धेरै कामहरू गरेको र एक हातले दिँदा अर्को हातले थाहा नपाओस् भन्ने भावनाका साथ अघि बढेको उल्लेख गरे।
यसअघि पनि यस ग्रुपले नेपालको इटहरी र तरहरा क्षेत्रमा निःशुल्क खानेपानी वितरण (Water ATM) तथा धरानका मेयर हर्क साम्पाङको अभियान अन्तर्गत संसद पार्कमा गेट निर्माण जस्ता कार्यहरूमा आर्थिक तथा भौतिक सहयोग पुर्याइसकेको छ।
चलचित्र प्रदर्शनका क्रममा संस्थाका अध्यक्ष यूवक संयोग्पा लिम्बूले चलचित्र प्रदर्शन भन्दा ठूलो कुरा मानवीय भावना र सहयोगी मन रहेको उल्लेख गर्दै यो अभियान सानो आशा र करुणा बाँड्ने एउटा सुन्दर पल भएको बताए।
यस्तै, को-फाउन्डरहरू जीवन गुरुङ र अरुण राईले हङकङमा रहेका नेपाली दर्शक तथा शुभचिन्तकहरूको निरन्तर साथ र मायाप्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्ता ब्लकबस्टर नेपाली चलचित्रहरू मार्फत च्यारिटी अभियानलाई निरन्तरता दिने बताए।
मगर समुदायको परिवेश, गाउँले जनजीवन र जटिल मानवीय सम्बन्धको जगमा बनेको यस चलचित्रबारे प्रतिक्रिया दिँदै मगर संघ हङकङका प्रतिनिधिहरूले यसले समग्र नेपाली समाजकै एउटा जीवन्त पाटोलाई उजागर गरेको बताए।
चलचित्रमा मितज्यूको वास्तविक सम्बन्ध र यसको सामाजिक गहिराईलाई सुन्दर ढंगले प्रस्तुत गरिएको उनीहरूको भनाइ थियो।
सुपर स्टार कलाकारहरू दयाहाङ राई, सौगात मल्ल र नव-नायिका तेरिया मगरको मुख्य अभिनय रहेको यस चलचित्रले हलमा उपस्थित दर्शकहरूलाई भावुक र उत्साहित दुवै बनाएको थियो।
प्रदर्शनमा उपस्थित स्थानीय चलचित्रकर्मी तथा अभिनेताले यो चलचित्र अरू व्यापारिक चलचित्र जस्तो केवल कलरफुल मात्र नभएर निकै कलात्मक र अर्थपूर्ण रहेको टिप्पणी गरे।
निर्देशकले यसमा स्थानीय कथा, भाषा र संस्कृति मात्र नभएर तत्कालीन राजनैतिक उतारचढाव र द्वन्द्वकालले जनतामा पारेको पीडालाई निकै गम्भीरताका साथ बुनेको प्रतिक्रिया हलमा व्यक्त भयो। विशेष गरी चलचित्रमा प्रचण्डका कविताहरूको सन्दर्भ आउनु आफैँमा निकै अर्थपूर्ण र बहुआयामिक रहेको समीक्षा समेत गरिएको छ।
हलबाट बाहिरिँदै गर्दा अधिकांश दर्शकहरूले चलचित्र ‘दामी र बबाल’ रहेको भन्दै खुसी व्यक्त गरे।
विशेष गरी नव-नायिका तेरिया मगरको अभिनय र चलचित्रको कमेडी पाटोलाई दर्शकहरूले अत्यधिक रुचाएका छन्।
धेरैले चलचित्र हेरिरहँदा आफूहरू आफ्नै गाउँघर र पुराना दिनहरूमा फर्किएको महसुस भएको बताए।
नेपालमा रहेका असहाय बालबालिकाको उज्ज्वल भविष्यका लागि हङकङमा रहेर पनि पाथीभरा इन्टरटेनमेन्ट ग्रुपले चालेको यो निस्वार्थ कदमलाई सम्पूर्ण हङकङबासी नेपालीहरूले मुक्तकण्ठले प्रशंसा गर्दै आगामी शोहरूमा पनि पूर्ण सहयोग गर्ने ऐक्यबद्धता जनाएका छन्
