जनताको सेवामा ढिलासुस्ती र बहानाबाजी चल्दैन – नगर प्रमुख हेमकर्ण पौडेल
इटहरी उपमहानगरपालिकालाई नागरिकमैत्री र सुशासित बनाउने उद्देश्यका साथ उपमहानगरपालिका कार्यालय अन्तर्गत कार्यरत सम्पूर्ण कर्मचारीहरूसँग एक विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कर्मचारीहरूले भोग्दै आएका समस्या, गुनासा र कार्यक्षेत्रका चुनौतीहरूका बारेमा विस्तृत छलफल गरिएको थियो।
छलफलका क्रममा कर्मचारीहरूका गुनासो र समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्दै नगर प्रमुख हेमकर्ण पौडेलले नगरबासीको सेवामा इमान्दारीपूर्वक लाग्न निर्देशन दिनुभएको छ।
विगत लामो समयदेखि जनताले प्रत्यक्ष सेवा पाउने यो निकाय भद्रगोल र अस्तव्यस्त रहँदा आम नागरिकले सहज रूपमा सेवा लिन सकिरहेका थिएनन्। प्रशासनिक अस्पष्टता र समन्वयको अभावका कारण सेवाग्राहीहरूले सास्ती खेप्नु परिरहेको अवस्था विगतमा थियो। यही अवस्थालाई दृष्टिगत गर्दै वर्तमान इटहरी सरकारले सांगठनिक संरचनालाई व्यवस्थित गर्ने कार्यलाई तीव्रता दिएको छ।
उपमहानगरपालिकाले आवश्यक दरबन्दी कायम गरेर कर्मचारीहरूको सेवा सुविधामा समेत एकरूपता ल्याउने अन्तिम तयारी गरिरहेको छ।
यस नयाँ व्यवस्थापन र सुधारको तयारीले गर्दा लामो समयपछि कर्मचारीहरूको मनोबल निकै उच्च भएको पाइएको छ। कार्यक्षेत्रमा न्यायोचित वातावरण र सेवा सुविधा सुनिश्चित हुन थालेपछि कर्मचारीहरूको कार्यसम्पादन क्षमतामा समेत उल्लेख्य वृद्धि हुन थालेको छ।
नगर प्रमुख पौडेलले कर्मचारीहरूलाई ढाडस दिँदै उत्कृष्ट काम गर्नेलाई पुरस्कृत र ढिलासुस्ती गर्नेलाई दण्डित गरिने नीति स्पष्ट पार्नुभएको छ।
उहाँले ‘जनता नै भगवान्’ भएको बताउँदै इटहरीलाई सुशासनयुक्त र देशकै नमूना स्थानीय तह बनाउने महाअभियानमा दत्तचित्त भएर लाग्न सम्पूर्ण कर्मचारीहरूलाई आह्वान गर्नुभएको छ।
