‘मुन्धुम: द सिक्रेट्स अफ साम: सामा’को इटहरी प्रिमियर असोज २ गते हुने
इटहरी । काठमाडौँमा सफलतापूर्वक विशेष प्रिमियर शो सम्पन्न गरेपछि नेपाली कथानक चलचित्र ‘मुन्धुम: द सिक्रेट्स अफ साम: सामा’ (MUNDHUM: The Secrets of Sam: Sama) को पूर्व क्षेत्रीय प्रिमियर इटहरीमा आयोजना हुने भएको छ।
प्रकाश सुब्बाको निर्देशनमा बनेको बहुप्रतिक्षित चलचित्रको इटहरी प्रिमियर आउँदो २०८३ असोज २ गते, शुक्रबार (सेप्टेम्बर २६, २०२६) का दिन इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा बिहान ११:०० बजे आयोजना गरिने भएको छ।
राजधानीमा भएको प्रिमियरमा दर्शक तथा चलचित्रकर्मीहरूबाट उत्कृष्ट प्रतिक्रिया र प्रशंसा पाएपछि निर्माण पक्षले पूर्वका दर्शकहरूका लागि इटहरीमा प्रिमियर शोको आयोजना गर्न लागेको हो।
लिम्बू समुदायको दार्शनिक तथा आध्यात्मिक अवधारणा ‘साम: सामा’ को विषयवस्तुलाई यस चलचित्रमा मुख्य प्रस्तुतिका रूपमा समेटिएको छ।
चलचित्रका निर्देशक प्रकाश सुब्बाका अनुसार यो विषय केवल सांस्कृतिक प्रदर्शन मात्र नभएर आस्था र विश्वासको कुरा हो।
निर्देशक सुब्बाले भने, “यो चलचित्र केवल सांस्कृतिक विषयवस्तुमा सीमित छैन, यो त हाम्रो अगाध आस्था र विश्वासको कुरा हो। मानिसको आत्मा, प्रकृति र जीवनदर्शनसँग जोडिएको यो गहन विषयलाई हामीले पर्दामा उतार्ने प्रयास गरेका छौँ।”
यस चलचित्रलाई बिनिता राई सुब्बाले निर्माण गर्नुभएको हो भने अयुब के.सी. कार्यकारी निर्माताका रूपमा रहनुभएको छ।
त्यसैगरी, चलचित्रको सह-निर्माता आकाश हाङ लिम्बू, सागर केरुङ र प्रकाश ओझा रहनुभएको छ।
निर्देशक सुब्बाका अनुसार इटहरीमा हुने यस प्रिमियर शोमा स्थानीय बुद्धिजीवी, कलाकार, पत्रकार तथा संस्कृतिप्रेमीहरूको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ।
