शान्तिनगरलाई हराउँदै तरहरा युनाइटेड बन्यो मनसुन कप च्याम्पियन
दियाहाङ राई । शान्तिनगर (इटहरी)
इटहरी उपमहानगरपालिका वडा नं २ स्थित बुढासुब्बा खेल मैदानमा सम्पन्न आशिष राई सहयोगार्थ ‘पाँचौं मनसुन कप फुटबल प्रतियोगिता २०८३’ को उपाधि तरहरा युनाइटेड क्लबले चुमेको छ।
कार्तिक २ गते सम्पन्न निकै प्रतिस्पर्धात्मक तथा रोमाञ्चक फाइनल भिडन्तमा आयोजकरस्थानीय शान्तिनगर फुटबल क्लब (ब्लु)लाई ४-३ को गोल अन्तरले स्तब्ध पार्दै तरहरा च्याम्पियन बनेको हो।
उपाधि हात पारेसँगै तरहरा युनाइटेडले नगद ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
यस्तै उपविजेतामा सीमित बनेको शान्तिनगर फुटबल क्लब (ब्लु) ले नगद ३० हजार रुपैयाँ र ट्रफीमा चित्त बुझाएको छ।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथि इटहरी वडा नं २ का वडाध्यक्ष माधव प्रसाद कोइराला रहनुभएको थियो।
दर्शकलाई रोमाञ्चित बनाएको फाइनल खेलमा तरहराका लागि सेसेहाङ लिम्बुले दुई गोल गरे। उनले खेलको ८औं मिनेट र दोस्रो हाफको २१औं मिनेटमा गोल गरेका थिए। त्यसैगरी, असीम राईले ३१औं मिनेटमा तथा काली बहादुर थापाले दोस्रो हाफको ८औं मिनेटमा १(१ गोलको योगदान दिए।
उपविजेता शान्तिनगर ब्लुका तर्फबाट निस कुमार श्रेष्ठले खेलको ३औं र ३३औं मिनेटमा दुई गोल तथा सौराज राउतले दोस्रो हाफको २०औं मिनेटमा एक गोल फर्काए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका तरहरा युनाइटेडका काली बहादुर थापा ‘प्लेयर अफ द टुर्नामेन्ट’ (सर्वोत्कृष्ट खेलाडी( घोषित हुँदै नगद ३ हजार रुपैयाँ एकसय रुपैयाँ र ट्रफी प्राप्त गर्न सफल भए।
प्रतियोगिताको विधागत विधातर्फ तरहरा युनाइटेडका सेसेहाङ लिम्बुले फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै नगद रु. १,५०० र ट्रफी प्राप्त गरे।
त्यस्तै उत्कृष्ट गोलकिपर तरहराकै सन्देश चौधरी र उत्कृष्ट फरवार्ड असीम राई चुनिए। उपविजेता शान्तिनगर ब्लुका बिकु राई उत्कृष्ट डिफेन्डर तथा जोलिन राई उत्कृष्ट मिडफिल्डर घोषित भए।
प्रतियोगिताभर कुल ६ गोल गरेका शान्तिनगर ब्लुका निश कुमार श्रेष्ठ सर्वाधिक गोलकर्ता बने भने राइजिङ प्लेयर्स (उदीयमान खेलाडी) तर्फ शुभाहाङ राई, दिलिप मगर र शुभम राईले संयुक्तरूपमा नगद रु. ५,००० र ट्रफी हात पारे।
विधागत उत्कृष्ट बन्न सफल खेलाडीहरूले नगद रु. २,१०० र ट्रफी प्राप्त गरेका छन्।

(तस्वीरहरु पनि)
