अन्तराष्ट्रिय खेलाडी मैदान उत्रार्दै इटहरीको दमदार जित: सेमिफाइनलमा आयोजकसँग महाभिडन्त पक्का
गछिया । एनि प्रथम गछिया गोल्डकप–२०८२ को चौथो क्वाटरफाइनल खेलमा राष्ट्रिय जागृती फुटबल क्लब इटहरीले दमदार प्रदर्शन गर्दै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूले सुसज्जित इटहरीले दमक फुटबल एकेडेमीलाई २-० गोल अन्तरले पराजित गरेको हो। यो जितसँगै अब इटहरीले बहुप्रतिक्षित दोस्रो सेमिफाइनल खेलमा आयोजक गछिया युवा समाज सँग शनिबार (मंसिर २० गते) महाभिडन्त गर्ने पक्का भएको छ।
आज (मंसिर १८ गते) भएको यस खेलमा इटहरीका लागि पहिलो हाफको १३औँ मिनेटमा प्रवेश बस्नेतले पहिलो गोल गरे भने दोस्रो हाफको ३९औँ मिनेटमा योगेन्द्र कार्की ले दोस्रो निर्णायक गोल गरे। दमक फुटबल क्लबले निर्धारित समयसम्म गोल गर्ने कुनै पनि अवसर सिर्जना गर्न सकेन।
राष्ट्रिय जागृती फुटबल क्लब इटहरीका तर्फबाट महत्त्वपूर्ण दोस्रो गोल गर्ने योगेन्द्र कार्की आजको खेलमा ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई उनको उत्कृष्ट प्रदर्शनको कदर गर्दै नगद ५ हजार १ सय रुपैयाँको पुरस्कार प्रदान गरियो। आजको क्वाटरफाइनल खेलका प्रमुख अतिथि सुन्दरहरैंचा–४ का वडा अध्यक्ष कैलाश बस्नेत हुनुहुन्थ्यो। यसअघि नै आयोजक गछिया युवा समाज, सहलेश युवा क्लब सिराहा र गाईघाट युनाइटेड फुटबल क्लब उदयपुरले सेमिफाइनलमा स्थान बनाइसकेका थिए।
यस जितसँगै गोल्ड कपको सेमिफाइनलमा पुग्ने चार टोलीको समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनल खेल भोलि (मंसिर १९ गते) दिउँसो २ बजे सहलेश युवा क्लब सिराहा र गाईघाट युनाईटेड फुटबल क्लब उदयपुर बीच हुनेछ। प्रतियोगिताको फाइनल खेल मंसिर २२ गतेसम्म सञ्चालन हुनेछ। विजेता टोलीलाई २ लाख १ हजार र उपविजेतालाई १ लाख १ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। यसका साथै, प्रतियोगितामा ज्येष्ठ नागरिक सम्मान र शारीरिक अपांगता भएका नागरिकलाई व्हिलचेयर प्रदान गर्ने लगायतका सामाजिक कार्यक्रमहरू पनि आयोजना गरिने आयोजक गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले जानकारी दिनुभयो।
