अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया एनी गोल्डकपको भव्य एवम् शान्दार शुरुवात; सहलेस क्लबको विजयी
मोरङको सुन्दरहरैंचास्थित गछिया बजारको खेलकुद इतिहासमा एउटा नयाँ गौरवशाली अध्याय सुरु भएको छ। “लागुऔषधले लिन्छ ज्यान, गछिया समाजको आह्वान— स्वस्थ रहन खेलमा ध्यान” भन्ने मूल नाराका साथ गछिया युवा समाजको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रण एनी प्रथम गछिया गोल्डकप २०८२ को भव्य उद्घाटन भएको छ।
फुटबललाई खेल मात्र नभई सामाजिक रूपान्तरणको माध्यम बनाउने उद्देश्य बोकेको यस गोल्डकपको उद्घाटन समारोहमा सुन्दरहरैंचा नगर प्रमुख केदार प्रसाद गुरागाईं प्रमुख अतिथि र नगर उपप्रमुख अकली चौधरी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुभएको थियो, जसले प्रतियोगितालाई स्थानीय सरकारको पूर्ण समर्थन रहेको सन्देश दिएको छ।
नेपाल आदिवासी जनजाति महासंघको समन्वयमा विभिन्न समुदायको आकर्षक झाँकी तथा नृत्यहरू प्रदर्शन गरिएका थिए, जसले स्थानीय संस्कृति र राष्ट्रिय एकताको सुन्दर छटा प्रस्तुत गरेको थियो।
यस क्षेत्रको फुटबल परम्परालाई पुनर्जीवन दिने लक्ष्यका साथ सुरु गरिएको यस प्रतियोगिताको अनुमानित लागत २५ लाख रुपैयाँ रहेको र यसले युवाहरूलाई रचनात्मक कार्यमा संलग्न गराई लागूऔषध दुर्व्यसनबाट टाढा राख्न उत्प्रेरित गर्ने आयोजक गछिया युवा समाजका अध्यक्ष सरोज दाहाल ले जानकारी गराउनुभयो।

गोल्डकपका संयोजक प्रलाद थोप्रा लिम्बुले स्वागत मन्तव्य राख्दै गछियाको फुटबल इतिहासमा यो क्षणलाई गौरवपूर्ण कोशेढुङ्गा को रूपमा व्याख्या गर्नुभयो।
“वर्षौंको अथक प्रयास र सपना साकार पार्दै गछिया युवा समाजले आफ्नो ऐतिहासिक खेलभूमिमा अन्तर्राष्ट्रियस्तरको गोल्डकप आयोजना गर्न पाउनु हामी सम्पूर्ण नगरवासीका लागि अद्वितीय गौरव र हर्षको विषय हो।”, उहाँले भन्नुभयो, “सम्पूर्ण खेलप्रेमी नगरवासी तथा दर्शकहरूलाई खेल अवलोकन गरी प्रतियोगिताको सफलतामा सक्रिय सहयोग गर्नका लागि हार्दिक अनुरोध गर्दछु ।”
संयोजक लिम्बुले यस भव्य आयोजनालाई मूर्तरूप दिनका लागि सहयोग गर्ने समाजका पदाधिकारीहरू, खेल प्रायोजकहरू, सहयोगी मनहरू र देश विदेशबाट आर्थिक, भौतिक, नैतिक एवं विविध रूपमा योगदान पुऱ्याउने सम्पूर्ण महानुभावहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो।
साथै, उहाँले प्रतियोगितालाई व्यवस्थित र सफल बनाउनका लागि सहयोग पुऱ्याउने स्थानीय तह, प्रहरी प्रशासन, ट्राफिक नियन्त्रण निकाय, जिल्ला प्रशासन तथा अखिल नेपाल फुटबल संघ (एन्फा) लगायत सबै सरोकारवाला निकायहरूप्रति विशेष धन्यवाद ज्ञापन गर्नुभयो।
यस प्रतियोगिताले खेलकुद क्षेत्रमा उत्कृष्टता प्रदर्शन गर्ने खेलाडीहरूलाई मात्र सम्मान नगरेर सामाजिक उत्तरदायित्वका कार्यहरूलाई पनि उत्तिकै महत्त्व दिएको छ। सोही क्रममा सुन्दरहरैंचा नगरपालिकाका १२ वटै वडाका १२ जना जेष्ठ नागरिकलाई सम्मान गर्ने तथा शारीरिक अपाङ्गता भएका १ पुरुष र १ महिलालाई ह्विलचेयर वितरण गरिने कार्यक्रम रहेको छ। साथै, राष्ट्र र अन्तर्राष्ट्रिय खेलकुदमा गछियाको पहिचान स्थापित गर्ने खेलाडीहरूलाई “बिहानी सम्मान” बाट विभूषित गरिने भएको छ।
मंसिर १५ देखि २२ गतेसम्म चल्ने गोल्डकपमा नेपाल र भारतका गरी ८ टोलीको सहभागिता रहेको छ, जसमध्ये विजेताले नगद रु. २ लाख १ हजार र उपविजेताले रु. १ लाख १ हजार पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको ‘सर्बोत्कृष्ट खेलाडी’ ले नगद रु. २५ हजार प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट (उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, फर्वार्ड, कोच, राइजिङ प्लेयर र सर्वाधिक गोलकर्ता) खेलाडीहरूलाई जनही रु. ११ हजार प्रदान गरिनेछ।
सहलेस क्लबको विजयी सुरुवात
मोरङको सुन्दरहरैंचास्थित गछिया बजारमा ऐतिहासिक रूपमा सुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रण एनी प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सिरहाको सहलेस युवा फुटबल क्लब ले विजयी सुरुवात गरेको छ।
मंसिर १५ गते सोमबार सम्पन्न रोमाञ्चक क्वार्टर फाइनल खेलमा सहलेसले बलियो प्रतिद्वन्द्वी बेलबारी फुटबल क्लब मोरङ लाई १-० को साँघुरो गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।
मोरङको फुटबल जगतमा यो गोल्डकपलाई लामो समयदेखिको खेलकुद परम्पराको पुनर्जागरण र लागुऔषधविरुद्धको युवा अभियानको रूपमा लिइएको छ, जहाँ खेलकुदको माध्यमबाट समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने उद्देश्य राखिएको छ। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा सहलेसले आफ्नो प्रभाव जमायो।
सहलेस क्लबका लागि निर्णायक गोल खेलको ५५औँ मिनेटमा अनुभवी खेलाडी रोमन भुजेल ले गरेका थिए। देवेन्द्र तामाङ, शिशिर लेखी लगायत विदेशी खेलाडी अबयोमी फकुन्ले जस्ता उत्कृष्ट खेलाडीहरू मैदानमा उत्रिएको सहलेसको लागि भुजेलको सोही गोल नै जितको आधार बन्यो। भुजेलले गरेको सुन्दर फिनिसले टोलीलाई मात्र जिताएन, उनलाई सोही खेलको ‘म्यान अफ द म्याच’ घोषित गरियो र उनले नगद रु. ५ हजार १ सय पुरस्कार प्राप्त गरे।
उद्घाटन खेलको नतिजासँगै गोल्डकपको प्रतिस्पर्धा थप रोमान्चक बनेको छ। अब, मंसिर १६ गते हुने दोस्रो क्वार्टरफाइनल खेलमा आयोजक गछिया युवा समाज ले पाहुना टोली लिजेन्ड फुटबल एकेडेमी पश्चिम बङ्गाल, भारत को सामना गर्नेछ, जसले प्रतियोगितालाई साँच्चिकै अन्तर्राष्ट्रिय आयाम प्रदान गर्नेछ।
गोल्डकपको फाइनल खेल मंसिर २२ गते हुने तालिका रहेको छ, जसमा थप तीन वटा क्वार्टर फाइनल खेलहरू क्रमशः मंसिर १६ गते, १७ गते (जलथल F.C. झापा विरूद्ध गाईघाट युनाइटेड) र १८ गते (राष्ट्रिय जागृती क्लब इटहरी विरूद्ध दमक F.A.) मा हुनेछन्।
