गाईघाटको शानदार जित, भोलि इटहरी र दमक भिड्ने !

0
Gaighat fc

गछिया । मोरङको सुन्दरहरैंचास्थित गछिया बजारको खेलकुद इतिहासमा सामाजिक रूपान्तरणको माध्यम बनाउने उद्देश्यसहित “लागुऔषधले लिन्छ ज्यान, गछिया समाजको आह्वान— स्वस्थ रहन खेलमा ध्यान” भन्ने मूल नाराका साथ गछिया युवा समाजको आयोजनामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण एनी प्रथम गछिया गोल्डकप–२०८२ निकै प्रतिस्पर्धात्मक बनेको छ। मंसिर १७ गते (आज) सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा गाईघाट युनाइटेड फुटबल क्लब, उदयपुर ले जित दर्ता गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।

गाईघाट युनाइटेड र जलथल फुटबल क्लब झापा बीच भएको रोमाञ्चक खेलमा जलथलका निश कुमार श्रेष्ठले २८ औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता लिए पनि त्यसको एक मिनेटमै गाईघाटका विनोद राईले गोल गरी खेललाई १–१ को बराबरीमा ल्याएका थिए।

निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो, जहाँ गाईघाट युनाइटेडले बाजी मार्दै सेमिफाइनल यात्रा तय गर्‍यो। आजको खेलका प्रमुख अतिथि सुन्दरहरैंचा–३ का वडा अध्यक्ष विदुर प्रसाद ढुंगाना हुनुहुन्थ्यो भने गाईघाटका गोल रक्षक रेम्बो चौधरी ‘म्यान अफ द म्याच’ घोषित भई ५ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

यसअघि, मंसिर १६ गते सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा आयोजक गछिया युवा समाज ले पाहुना टोली लिनेण्ड फुटबल क्लबलाई ७–० को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ। खेलमा प्रमुख अतिथि सुन्दरहरैचा वडा नम्बर २ का वडा अध्यक्ष दिवश प्रधान उपस्थित हुनुहुन्थ्यो ।

आयोजक टिमका लागि उत्कृष्ट प्रदर्शन गर्दै प्रदीप बुढाथोकी ले चार गोल र विजय उराँवले दुई गोल गरे, जसका कारण प्रदीप बुढाथोकी नै ‘म्यान अफ द म्याच’ घोषित हुँदै ५ हजार १ सय रुपैयाँ पुरस्कारबाट सम्मानित भए।

प्रतियोगिताको उद्घाटन खेलमा मंसिर १५ गते सिरहाको सहलेश युवा क्लब ले बलियो प्रतिद्वन्द्वी बेलबारी फुटबल क्लबलाई १–० को साँघुरो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ, जहाँ सहलेश क्लबका लागि निर्णायक गोल ५५औँ मिनेटमा रोमन भुजेलले गरेका थिए र उनी म्यान अफ द म्याच घोषित भएका थिए।

अब प्रतियोगिताको चौथो तथा अन्तिम क्वार्टरफाइनल खेल भोलि (मंसिर १८ गते) दिउँसो ३ बजे राष्ट्रिय जागृती फुटबल क्लब इटहरीदमक फुटबल क्लब बीच हुनेछ, जसको विजेताले सेमिफाइनलमा स्थान बनाउनेछ। प्रतियोगिताको फाइनल मंसिर २२ गतेसम्म सञ्चालन हुने खेल संयोजक प्रलाद थोप्रा लिम्बुले जानकारी दिनुभएको छ। गोल्डकपमा कुल ८ टोली सहभागी छन्।

प्रतियोगितामा विजेता टोलीलाई २ लाख १ हजार, उपविजेतालाई १ लाख १ हजार, ‘म्यान अफ द सिरिज’लाई २५ हजार, उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। खेलकुदका साथै सुन्दरहरैंचा नगरपालिकाका १२ वडाका २४ जना ज्येष्ठ नागरिकलाई सम्मान र शारीरिक अपांगता भएका २ नागरिकलाई ह्विलचेयर प्रदान गरिनेछ। दीर्घकालीन योगदान दिएका स्थानीय खेलाडीहरूलाई पनि सम्मान गरिने कार्यक्रम रहेको गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले बताउनु भयो, जसले यो प्रतियोगिता खेलकुद मात्र नभई सामाजिक कार्यमा पनि समर्पित रहेको सन्देश दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *