इटहरी (सुनसरी) । भोटेकोशी, रसुवा, नुवाकोट र त्रिशूली क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि इटहरी–२०, तरहरास्थित एप्पल ट्री एकेडेमीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख ११ हजार १११ सहयोग प्रदान गरेको छ।
विद्यालयका अनुसार उक्त सहयोग रकम विद्यार्थी, शिक्षक तथा कर्मचारी र विद्यालय प्रशासनको सामूहिक प्रयास तथा स्वेच्छिक योगदानबाट संकलन गरिएको हो।
विपद्को समयमा पीडित परिवारलाई राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले विद्यालय परिवारले उक्त रकम प्रदान गरेको जनाएको छ।
विद्यालयका निर्देशक सन्तोष कट्वालले शिक्षा किताब र कक्षाकोठामा मात्र सीमित नहुने बताए।
उनका अनुसार बालबालिकालाई दया, करुणा, सहकार्य, सामाजिक उत्तरदायित्व र मानवताको मूल्य सिकाउनु पनि शिक्षाको महत्वपूर्ण उद्देश्य हो।
“शिक्षा प्रदान गर्ने संस्था मात्र नभई मानवता, करुणा, सहकार्य, सामाजिक उत्तरदायित्व र नागरिक चेतना विकास गर्ने शैक्षिक समुदाय निर्माण गर्नु हाम्रो दृढ विश्वास हो,” निर्देशक कट्वालले भने।
उनले विद्यालय परिवारको सानो प्रयासले विपद्मा परेका नागरिकलाई सहयोग पुग्नुका साथै बालबालिकामा सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
“आजका यी साना प्रयासहरूले भोलिका जिम्मेवार, संवेदनशील र सहयोगी नागरिक निर्माण गर्नेछन्,” उनले भने।
यसैबीच, विद्यालयकी प्रधानाध्यापक चन्द्रकला घिमिरेले प्राकृतिक विपत्तिमा राहत तथा उद्धार गर्नु सरकार वा कुनै एक संस्थाको मात्र जिम्मेवारी नभई सम्पूर्ण समाजको साझा दायित्व भएको बताइन्।
उनले विपद्का कारण शिक्षा, सुरक्षित वातावरण तथा आवश्यक शैक्षिक सामग्रीबाट वञ्चित हुन पुगेका बालबालिकाको शिक्षा निरन्तरताका लागि सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिइन्।
प्रभावित बालबालिकाको शिक्षा निरन्तरताका लागि आवश्यक सहयोग गर्न विद्यालय प्रतिबद्ध रहेको उनको भनाइ छ।
विद्यालयले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, घाइते, विस्थापित, सम्पर्कविहीन तथा विपद्बाट प्रभावित सम्पूर्ण परिवारप्रति विद्यालय परिवारले गहिरो सहानुभूति प्रकट गरेको छ।
विद्यालयले विपद्को यस कठिन घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणका लागि आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सबैमा आग्रह गरेको छ।
