इटहरी–२० द्धारा संकलित राहत रकम भोलि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरिदै
तरहरा, सुनसरी । गोर्खा खबर
भोटेकोशी, रसुवा, नुवाकोट तथा त्रिशूली लगायतका क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि इटहरी उपमहानगरपालिका वडा नं. २० (तरहरा) मा संकलित राहत रकम भोलि (शुक्रबार) प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरिने भएको छ। यसअघि, बुधबार गरिने भनिएकोमा राहतदाताहरु बढेपछि वडाले समय बढाएको, जनाएको छ ।
“यसअघि बुधबार नै राहत रकम कोषमा हस्तान्तरण गर्ने तालिका रहे तापनि सहयोग जुट्ने क्रम जारी रहेकाले समय सीमा २ दिन थप गरी शुक्रबार बिहान १०ः३० बजे रकम हस्तान्तरण गर्ने निर्णय गरिएको हो।”, नेतृत्वकर्ता वडा अध्यक्ष मणीराम श्रेष्ठले गोर्खा खबर र सोल्टी टिभीसँग भने, “वडालाई विश्वास गरेर वडा मार्फत विपतमा परेका हाम्रा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई राहत प्रदान गर्नुहुने सम्पूर्ण मनकारी महानुभाव एवम् संघसंस्थाहरु प्रति वडा र मेरो व्यक्तिगत तर्फबाट धन्यवाद ज्ञापन गर्न चाहान्छु । साथै, शुक्रबार प्रत्यक्ष सहभागि भईदिनका लागि विनम्र अनुरोध पनि गर्दछु ।”
वडा अध्यक्ष मणिराम श्रेष्ठको सक्रिय भूमिका र पारदर्शी कार्यशैलीप्रतिको उच्च विश्वासका कारण व्यक्तिगत तथा संस्थागत रूपमा पूर्वसहयोग गरिसकेका स्थानीय तथा विभिन्न संघ–संस्थाहरूले वडाको आह्वानलाई स्वीकार गर्दै पुनः नगद तथा चेक मार्फत आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
वडा नं. २० का वडा सदस्य तनुज गुरुङ (सुरेश) का अनुसार भोलि आयोजना गरिने पत्रकार सम्मेलन मार्फत संकलित सम्पूर्ण रकम र दाताहरूको विवरण सार्वजनिक गरी उक्त रकम आधिकारिक रूपमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरिनेछ ।
गुरुङले राहत संकलनको सम्पूर्ण काम अध्यक्षको नेतृत्वमा वडाले नै गरेको र त्यसको सार्वजनिक पनि पारर्दर्शी ढंगले वडा अध्यक्षको नेतृत्वमा नै हुनेभएको, दाबी गरे ।
यसअघि वडाले दिप प्रज्वलन कार्यक्रम समेत सम्पन्न गरिसकेको छ ।
