भारतमाथि गोलको वर्षा गर्दै आयोजक विजयी, गछिया गोल्डकपको रौनक बढ्दै

0
gachiya yuwa samaaj-min

मोरङको सुन्दरहरैंचास्थित गछिया बजारको खेलकुद इतिहासमा “लागुऔषधले लिन्छ ज्यान, गछिया समाजको आह्वान— स्वस्थ रहन खेलमा ध्यान” भन्ने मूल नाराका साथ गछिया युवा समाजको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रण एनी प्रथम गछिया गोल्डकप–२०८२ को दोस्रो क्वार्टरफाइनल खेलमा आयोजक गछिया युवा समाजले विशाल जित हासिल गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। मंसिर १६ गते सम्पन्न यस खेलमा आयोजक गछिया युवा समाजले पाहुना टोली लिनेण्ड फुटबल क्लबलाई ७–० को फराकिलो गोल अन्तरले पराजित गर्‍यो। खेलमा प्रमुख अतिथि सुन्दरहरैचा वडा नम्बर २ का वडा अध्यक्ष दिवश प्रधान उपस्थित हुनुहुन्थ्यो।

खेलको पहिलो हाफमै १२ औँ मिनेटमा जर्सी नम्बर ९ का प्रदीप बुढाथोकीले अग्रता दिलाए भने १९ औँ मिनेटमा जर्सी नम्बर ८ का सन्तोष क्षेत्रीले टिमको दोस्रो गोल थपे। पहिलो हाफमा लिनेण्ड क्लबले गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन। दोस्रो हाफको सुरुवातमै, ५ औँ मिनेटमा प्रदीप बुढाथोकीले आफ्नो व्यक्तिगत दोस्रो तथा टिमको तेस्रो गोल गरे। त्यसपछि २० औँ मिनेटमा जर्सी नम्बर १७ का विजय उराँवले पहिलो गोल गरे। प्रदीपले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै २२ औँ मिनेटमा व्यक्तिगत तेस्रो तथा टिमको पाँचौं र ३० औँ मिनेटमा व्यक्तिगत चौथो र टिमको छैटौं गोल गरे। अन्तिममा ३५ औँ मिनेटमा विजय उराँवले व्यक्तिगत दोस्रो तथा टिमको सातौं गोल गर्दै स्कोर ७–० बनाएका थिए।

आजको ‘म्यान अफ द म्याच’ प्रदीप बुढाथोकी घोषित भएका छन् र उनलाई ५ हजार १ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको छ। यसअघि मंसिर १५ गते भएको उद्घाटन खेलमा सिरहाको सहलेश युवा क्लबले बलियो प्रतिद्वन्द्वी बेलबारी फुटबल क्लबलाई १–० को साँघुरो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो, जहाँ सहलेश क्लबका लागि निर्णायक गोल ५५औँ मिनेटमा रोमन भुजेलले गरेका थिए र उनी नै म्यान अफ द म्याच घोषित भएका थिए। भोलि, मंसिर १७ गते, गाईघाट युनाईटेड फुटबल क्लब (उदयपुर)जलथल फुटबल क्लब (झापा) बीचको तेस्रो क्वार्टरफाइनल खेल दिउँसो ३ बजे सुरु हुने जानकारी खेल संयोजक प्रलाद थोप्रा लिम्बुले दिनुभयो।

सामाजिक रूपान्तरणको माध्यम बनाउने उद्देश्य बोकेको यस गोल्डकपको भव्य उद्घाटन सुन्दरहरैंचा नगर प्रमुख केदार प्रसाद गुरागाईं र नगर उपप्रमुख अकली चौधरीको उपस्थितिमा भएको थियो। प्रतियोगितामा विजेता टोलीलाई २ लाख १ हजार, उपविजेतालाई १ लाख १ हजार, ‘म्यान अफ द सिरिज’लाई २५ हजार, उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। गोल्डकपमा कुल ८ टोली सहभागी छन् र प्रतियोगिता मंसिर २२ गतेसम्म सञ्चालन हुनेछ। खेलकुदका साथै सुन्दरहरैंचा नगरपालिकाका १२ वडाका २४ जना ज्येष्ठ नागरिकलाई सम्मान र शारीरिक अपांगता भएका २ नागरिकलाई व्हिलचेयर प्रदान गरिने कार्यक्रम रहेको गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले बताउनु भयो, जसले यो प्रतियोगिता खेलकुद मात्र नभई सामाजिक कार्यमा पनि समर्पित रहेको सन्देश दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *