गाइघाट युनाईटेड गोल्डकपको फाइनलमा: सहलेश युवा क्लबलाई १–० ले पराजित
सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी एनि प्रथम गछिया गोल्डकप–२०८२ को पहिलो सेमिफाइनल खेलमा गाईघाट युनाईटेड फुटबल क्लब विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको खेलमा गाइघाटले सहलेश युवा क्लब सिराहा लाई १–० गोल अन्तरले पराजित गर्यो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो। दोस्रो हाफको ३१ औं मिनेटमा गाइघाट युनाईटेडका जर्सी नम्बर १७ का सुनिल खड्का ले गरेको निर्णायक गोल नै टोलीलाई फाइनल यात्रा दिलाउन पर्याप्त भयो। निर्धारित समयसम्म पनि सिराहाले गोल फर्काउन नसक्दा गाइघाट १–० को जित निकाल्न सफल भयो।
आजको खेलका प्रमुख अतिथि सुन्दरहरैंचा–५ का वडा अध्यक्ष गणेश चौधरी हुनुहुन्थ्यो।
उक्त खेलको ‘म्यान अफ द म्याच’ गाईघाट युनाईटेड फुटबल क्लबका विवेद राई (जर्सी नम्बर ८) घोषित भए। उनलाई नगद ५ हजार १ सय रुपैयाँ पुरस्कार प्रदान गरियो।
प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनल खेल भोलि (शनिबार) दिउँसो २ बजेबाट सुरु हुनेछ। खेल संयोजक प्रलाद थोप्रा लिम्बुले दिएको जानकारी अनुसार दोस्रो सेमिफाइनलमा आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृती फुटबल क्लब इटहरी प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा विजेता टोलीले नगद २ लाख १ हजार रुपैयाँ र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। ‘म्यान अफ द सिरिज’ लाई २५ हजार तथा उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही ११ हजार रुपैयाँ प्रदान गरिनेछ।
गछिया युवा समाजका अध्यक्ष सरोज दाहालका अनुसार, खेलकुदसँगै समाजसेवालाई पनि प्राथमिकता दिइएको छ। प्रतियोगिताको अवसरमा सुन्दरहरैंचा नगरपालिकाका १२ वडाका २४ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिनेछ भने शारीरिक अपांगता भएका २ जना नागरिकलाई व्हिलचेयर प्रदान गरिनेछ। यसका साथै, दीर्घकालीन योगदान दिएका स्थानीय खेलाडीहरूलाई पनि सम्मान गरिनेछ। प्रतियोगिता २२ गतेसम्म सञ्चालन हुनेछ।
