गायक निश्चल गुरुङको म्युजिक भिडियो ‘आउछु’ सार्वजनिक
इटहरी । पूर्वी नेपालको सांगीतिक केन्द्र बन्दै गइरहेको इटहरीमा एक विशेष समारोहका बिच युवा गायक तथा संगीतकार निश्चल गुरुङको नयाँ म्युजिक भिडियो “Aauchu (आउछु)” हिजो मंगलबार सार्वजनिक गरिएको छ । इटहरीस्थित पट ब्याक क्याफेमा आयोजित उक्त विमोचन कार्यक्रममा स्थानीय अग्रज तथा जेन जी संगीतकर्मीहरू, सञ्चारकर्मी र कलाप्रेमीहरूको उपस्थिति रहेको थियो ।
निश्चल गुरुङद्वारा नै शब्द तथा संगीत सिर्जना गरिएको यस गीतको सार्वजनिक कार्यक्रममा गायकका पिता एवं खेलकुद क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, तेक्वान्दो गुरु कुमार गुरुङसहित परिवारका सदस्यहरूको समेत विशेष उपस्थिति रहेको थियो । पारिवारिक र सांगीतिक माहौलमाझ अग्रज संगीतकारहरूले नयाँ पुस्ताको यो प्रयासलाई उत्कृष्ट भन्दै निश्चलको सांगीतिक भविष्यको कामना गरे । गायन र बेस रेकर्डिङमा याना रेकर्ड्सका दिपेश राई, मिक्सिङ तथा मास्टरिङमा विशाल ताम्राकारले सहयोग गरेको अडियोलाई भिडियो छायांकनमा निशान्त दोर्ज र आसुम हाङ लिम्बुले निर्देशनमा, भिडियो सम्पादनमा सुप्रिम गिरी राईले सहयोग गरेको विमोचन समारोहमा धन्यवाद दिदै गायक निश्चलले बताए ।
नयाँ शैली र उत्कृष्ट संयोजन रहेको आउछु गीतले नेपाली सांगीतिक बजारमा, विशेषगरी युवा पुस्ता माँझ, राम्रो स्थान पाउन सक्ने विश्वास गर्दै ईटहरीका स्थापित गिटारवादक, एरेन्जर, संगीतकर्मी एवम् तथा ब्याण्डका बेस गिटारिस्ट नवीन न्यौपानेले भन्नुभयो, सबै माँझ यो गीत (आउछु) मात्र होईन, हाम्रा युवा भाईहरुका गीतहरु लोकप्रिय बनोस् भनि हामी शुभकामना दिन चाहान्छौं ।
