इटहरी उपमहानगरपालिकाको बजेट सार्वजनिक, खानेपानी र पूर्वाधार विकासलाई प्राथमिकता
इटहरी, सुनसरी।
इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ५२ करोड २८ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको बजेटमा खानेपानी, पूर्वाधार विकास, शहरी व्यवस्थापन, शिक्षा–स्वास्थ्य तथा रोजगारी प्रवर्द्धनलाई विशेष प्राथमिकतामा राखिएको छ।
उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेल र उपप्रमुख संगीता चौधरी को नेतृत्वमा प्रस्तुत बजेटले समृद्ध, स्वच्छ र सुरक्षित इटहरी निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ।बजेट अनुसार प्रत्येक घरधुरीमा शुद्ध खानेपानीको पहुँच विस्तार गर्ने, सडक निर्माण तथा स्तरोन्नति, ढल तथा नाला व्यवस्थापन, पुल–कल्भर्ट निर्माण र शहरी पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गरिनेछ।
त्यसैगरी व्यवस्थित बसोबास, हरित तथा स्मार्ट सहर निर्माण र सार्वजनिक पूर्वाधार विस्तारलाई पनि प्राथमिकतामा राखिएको छ।शिक्षा तथा स्वास्थ्य क्षेत्रतर्फ गुणस्तरीय शिक्षा प्रवर्द्धन, स्वास्थ्य सेवाको सुदृढीकरण तथा विद्यालय र स्वास्थ्य संस्थाको भौतिक संरचना सुधार गर्ने योजना अघि सारिएको छ। यस्तै युवा स्वरोजगार कार्यक्रम, सीप विकास तथा तालिम, कृषि आधुनिकीकरण र उद्यमशीलता प्रवर्द्धनमार्फत रोजगारी सिर्जना गर्ने लक्ष्य बजेटमा समेटिएको छ।उपमहानगरपालिकाले “जनताको कर, जनताको सेवा” भन्ने नारासहित विकास निर्माणका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। बजेटले इटहरीलाई थप व्यवस्थित, आधुनिक र समृद्ध सहरका रूपमा विकास गर्न महत्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको छ।

