दोस्रो याक्थुङ सिने अवार्ड : सिक्किमको नुमाहाङ्मा सर्वोत्कृष्ट
धरान, सुनसरी | लिम्बु भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ याक्थुङ चलचित्रकर्मी संघ नेपालको आयोजनामा ‘दोस्रो याक्थुङ सिने अवार्ड ईन्टरनेसनल २०८२’ भव्यताका साथ सम्पन्न भएको छ।
माघ २४ गते शनिबार धरान-३ स्थित सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित उक्त विशेष समारोहमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ईन्द्रमणी पराजुली प्रमुख अतिथिको रूपमा रहनुभएको थियो।
यस पटकको अवार्डमा सिक्किमबाट निर्माण गरिएको चलचित्र “नुमाहाङ्मा” ले वर्चस्व कायम गर्दै ‘सर्वोत्कृष्ट फिचर फिल्म’ को उपाधि जितेको छ भने सोही चलचित्रका लागि नियारा रुद्राङ सर्वोत्कृष्ट निर्देशक घोषित हुनुभयो।
यस्तै, ‘सेम्फुङका’ बाट बबिन आसुदुङ्बे उत्कृष्ट अभिनेता र ‘रीत’बाट विमला खाजुम उत्कृष्ट अभिनेत्रीको अवार्ड चुम्न सफल हुनुभयो । लघु चलचित्र तर्फ ‘तङ्सङ’ र यसका निर्देशक सागर केरुङले सफलता प्राप्त गर्दा संगीत तर्फ शिव सम्बाहाम्फे, मनु नेम्बाङ, बबिन शेर्मा र तुलसा लिम्बु जस्ता हस्तीहरू पुरस्कृत हुनुभएको छ।

याक्थुङ चलचित्रकर्मी संघ नेपालका अध्यक्ष नविन मेन्याङ्बोले यस अवार्डले लिम्बु कलाकार र चलचित्रकर्मीहरूमा नयाँ उर्जा थपेको बताउनुभयो।
“यो अवार्ड केवल सम्मान मात्र होइन, यसले हाम्रो मौलिक कला, संस्कार र पहिचानलाई विश्वव्यापी बनाउने अभियान हो।’, उहाँले भन्नुभयो, “यसले लिम्बु समुदायभित्रको एकतालाई मजबुत बनाउनुका साथै अन्य समुदायका चलचित्रकर्मीहरूलाई समेत उत्प्रेरणा प्रदान गर्नेछ।”
यसअघि प्रथम याक्थुङ सिने अवार्ड बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा भव्य रूपमा सम्पन्न भएको थियो।
अध्यक्ष नविन मेन्याङ्बोले पहिलो संस्करणको सफलताले नै यो अवार्डलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन मद्दत पुगेको बताउदै, “कार्यक्रममा फिचर फिल्म, लघु चलचित्र र म्युजिक भिडियो गरी विभिन्न विधामा तीव्र प्रतिस्पर्धा देखिएको जसले लिम्बु सिने जगतको व्यावसायिक विकास भइरहेको सङ्केत गरेको” दाबी गर्नुभयो ।
यस प्रकारका अवार्ड समारोहले सीमित स्रोत र साधनका बीच पनि मातृभाषामा चलचित्र बनाउने मेकरहरूलाई ठुलो प्रोत्साहन मिलेको मेन्याङ्बोले बताउनुभयो । उहाँले थप्नुभयो, “लिम्बु संस्कृतिलाई पर्दा मार्फत विश्वमा चिनाउने यो अभियानले नेपाली चलचित्र क्षेत्रकै गरिमा बढाएको र विभिन्न समुदायका कलाकारहरू बीचको सहकार्यलाई अझ सुदृढ बनाएको विश्वास गरिएको छ।”
दोस्रो याक्थुङ सिने अवार्ड इन्टरनेसनलमा सिक्किमबाट निर्माण गरिएको चलचित्र ‘नुमाहाङ्मा’ ले उत्कृष्ट फिचर फिल्मको उपाधि हात पारेको छ। अभिनय तर्फ फिचर फिल्मबाट बबिन आसुदुङ्बे र गिमाला खाजुम क्रमशः उत्कृष्ट अभिनेता र अभिनेत्री घोषित हुनुभयो भने लघु चलचित्र विधामा सागर केरुङ निर्देशित ‘तङ्सङ’ ले बाजी मारेको छ। त्यसैगरी सांगीतिक विधा तर्फ पालाम गायनमा शिव सम्बाहाम्फे र मनु नेम्बाङ तथा आधुनिक गायनमा बबिन शेर्मा र तुलसा लिम्बुले उत्कृष्ट गायक/गायिकाको अवार्ड चुम्दै आफ्नो सांगीतिक वर्चस्व कायम राख्न सफल हुनुभएको छ।
