इटहरीको भविष्य कोर्दै युवा: भोलिको इटहरी सुरु
इटहरी । इटहरीलाई आधुनिक, व्यवस्थित र समृद्ध शहरका रूपमा विकास गर्ने उद्देश्यका साथ नागरिकस्तरबाट ‘भोलिको इटहरी: भिजन २०५०’ अभियानको उत्साहजनक सुरुवात भएको छ। पत्रकार हिमाल दाहाल, आईटी डिजाइनर सन्तोष धमाला, जेनिशा जुनाईरा लगायतका युवाहरूको सक्रियता र नवप्रवर्तनशील सोचबाट सुरु भएको यो अभियानले इटहरीको भविष्यलाई नयाँ दिशा दिने विश्वास जगाएको छ।
अभियानको प्रारम्भिक चरणमा इटहरीका विभिन्न क्षेत्रका अगुवा, विज्ञ र सचेत नागरिकहरूको उल्लेखनीय र फलदायी सहभागिता रहेको थियो।
उक्त छलफलले इटहरीको समुन्नतिका लागि ११ वटा प्राथमिकताका क्षेत्रहरू निर्धारण गर्दै विकासको एउटा उत्कृष्ट ‘नागरिक मोडल’ तयार पारेको छ। पत्रकार हिमाल दाहालले प्रस्तुत गर्नुभएको कार्ययोजना अनुसार निर्धारित ११ क्षेत्रको नेतृत्व स्थानीय विभिन्न संघ-संस्थाहरूले लिनेछन्। यसले विकासमा जनसहभागिता र अपनत्वलाई सुनिश्चित गर्नेछ। अभियानले तत्काल सुधार गर्न सकिने र आगामी २५ वर्षसम्मका लागि आवश्यक पर्ने दीर्घकालीन योजनाहरूको स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ।
प्रविधिलाई आत्मसाथ गर्दै यस अभियानका लागि आधिकारिक वेबसाइट समेत निर्माण गरिएको छ, जसले पारदर्शी योजना तर्जुमामा सहयोग पुर्याउनेछ।
सहभागी वक्ताहरूले यी युवाहरूको सपना, सकारात्मक ऊर्जा र सिर्जनशील हस्तक्षेपले इटहरीको सामाजिक र भौतिक रूपान्तरणमा ठूलो बल पुग्ने विश्वास व्यक्त गरेका छन्।
नागरिक तहबाटै विज्ञहरूको सुझाव समेटेर तयार पारिने यस्ता योजनाले शहरको मौलिक पहिचान जोगाउँदै विश्वस्तरीय ‘बिजनेश र आईटी हब’ बनाउन मद्दत पुग्ने देखिएको छ।
आगामी चैत दोस्रो साता विज्ञहरूको बृहत् भेला आयोजना गर्ने तयारी गरिरहेको यो अभियानले आगामी एक वर्षसम्म विभिन्न रचनात्मक कार्यहरू मार्फत इटहरीको नयाँ स्वरूपको परिकल्पनालाई साकार पार्ने लक्ष्य राखेको छ।
