मनोरन्जन ब्युरो । तरहरा
इटहरी उपमहानगरपालिका वडा नम्बर २०, तरहराले प्रत्येक वर्ष आयोजना गर्दै आएको आफ्नो आधिकारिक वार्षिक उत्सवमा यसपटक विशेष आकर्षण थपिने भएको छ। आगामी पुष ९ गते तरहरामा आयोजना हुने यो समारोहमा नेपालकी चर्चित डान्सर तथा सामाजिक सञ्जालमा “चिकीरी चिकीरी” (Chikiri Chikiri) गर्लका रूपमा भाइरल भएकी आश्मा विश्वकर्मा प्रमुख आकर्षणकी रूपमा आउने भएकी छिन् ।
वडा अध्यक्ष मणीराम श्रेष्ठले आज बिहान गोर्खा खबर र सोल्टी टिभीसँग यसको आधिकारीक पुष्टि गर्नुभएको छ ।
दक्षिण भारतीय गीतमा आफ्नो दमदार नृत्य प्रस्तुत गरेर अन्तर्राष्ट्रिय चर्चा कमाएकी आश्मालाई प्रत्यक्ष देख्न र उनको प्रस्तुति हेर्नका लागि स्थानीय बासिन्दाहरूमा ठुलो उत्साह देखिएको महशुष गरि हाम्री ठाँऊकी भान्जीलाई यसपटक निमन्त्रणा गर्ने निर्णय गरिएको छ ।

वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो, वडा कार्यालयले आयोजना गर्ने यस कार्यक्रमले स्थानीय संस्कृति र युवा प्रतिभालाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा आश्मा भान्जीको सहभागिताले उत्साह थपिने विश्वास लिएको छु ।
यो कुनै किसिमको फाईदा वा राजनीतिक लाभका लागि भनदा पनि तरहराको उत्सवलाई थप मनोरञ्जनात्मक बनाउने अपेक्षाका साथ निर्णय गरिएको अध्यक्षको दाबी छ ।
स्थानीय, विशेषगरि, जेनजी पुस्ताहरु आश्मा तरहरा आउने खबरले उत्साहित एवम् प्रोत्साहित देखिएका छन् ।
