तरहरामा सांस्कृतिक उत्सवको तयारी चिकीरी चिकीरी गर्ल आश्मा विश्वकर्मा मुख्य आकर्षण

0
press meet

यस पटकको कार्यक्रमको मुख्य आकर्षणको रूपमा तरहराकै छोरी एवं चर्चित डान्सर आश्मा विश्वकर्मा रहनेछिन्। सामाजिक सञ्जालमा “चिकीरी चिकीरी” (Chikiri Chikiri) गर्लका रूपमा अन्तर्राष्ट्रिय चर्चा कमाएकी आश्मालाई प्रत्यक्ष हेर्न स्थानीय बासिन्दामा ठुलो उत्साह देखिएको छ।

इटहरी, पुस ६ इटहरी उपमहानगरपालिका वडा नं. २० (तरहरा) मा जातीय सामाजिक सद्भाव र सांस्कृतिक संरक्षणको उद्देश्यले भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। आइतबार वडा कार्यालय भवनमा आयोजित पत्रकार सम्मेलनमार्फत वडा अध्यक्ष मणीराम श्रेष्ठले कार्यक्रमबारे आधिकारिक जानकारी दिनुभएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै वडा अध्यक्ष श्रेष्ठले तरहरामा बसोबास गर्ने विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो।

“जातीय विभेद अन्त्य गर्दै धर्म, संस्कार र संस्कृतिको संरक्षणमार्फत सामाजिक सद्भाव कायम राख्नु नै हाम्रो मुख्य उद्देश्य हो,” अध्यक्ष श्रेष्ठले भन्नुभयो, “सारा नेपाल बन्द हुँदा पनि हाम्रो वडा कहिल्यै बन्द हुँदैन, किनकि यहाँ सबै भाषा-भाषी र धर्म-संस्कृतिका मानिसहरू मिलेर बसेका छन्। कार्यक्रममा पनि त्यो एकताको झलक देखिनेछ।”

यस पटकको कार्यक्रमको मुख्य आकर्षणको रूपमा तरहराकै छोरी एवं चर्चित डान्सर आश्मा विश्वकर्मा रहनेछिन्। सामाजिक सञ्जालमा “चिकीरी चिकीरी” (Chikiri Chikiri) गर्लका रूपमा अन्तर्राष्ट्रिय चर्चा कमाएकी आश्मालाई प्रत्यक्ष हेर्न स्थानीय बासिन्दामा ठुलो उत्साह देखिएको छ।

कार्यक्रमका थप आकर्षणहरू विभिन्न समुदायको पहिचान झल्किने सांस्कृतिक झाँकी, नेपाल सशस्त्र प्रहरी बलको विशेष ब्रस ब्यान्ड प्रस्तुति र विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिने कार्यक्रम रहेको, अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रम संयोजक एवं वडा सदस्य तनुज गुरुङ (सुरेश) का अनुसार कार्यक्रममा १३ वटा विभिन्न जातीय संघसंस्थाहरूले सहभागिताका लागि नाम टिपाइसकेका छन्। कार्यक्रममा निजी, सरकारी तथा सामुदायिक विद्यालयहरूको समेत उल्लेख्य सहभागिता रहनेछ।

तरहाराको आफ्नै मौलिकता र बहुसांस्कृतिक पहिचानलाई उजागर गर्ने यो कार्यक्रमले स्थानीय पर्यटन र सांस्कृतिक एकतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *