चलचित्र सुस्केराको एउटा सपना गीतमा दिनेश र नेहाको रोमान्स
काठमाडौं । नेपाली कथानक चलचित्र ‘सुस्केरा’ को ‘एउटा सपना’ बोलको आधिकारिक गीत सार्वजनिक भएको छ। सार्वजनिक भएसँगै गीतले दर्शकमाझ राम्रो चर्चा पाउन थालेको छ।
‘एउटा सपना’ बोलको यो रोमान्टिक गीतमा मुख्य कलाकार दिनेश कोइराला र नेहा देव बीचको प्रेममय प्रस्तुति समेटिएको छ। गीतको भिडियोमा उनीहरूको सुन्दर केमेस्ट्री देख्न सकिन्छ। चलचित्रमा दिनेश कोइराला, नेहा देवका साथै डा. ओम कृष्ण प्रसाईं, शर्मिला शर्मा, उषाकिरण अधिकारी, शुभम अधिकारी (बाल कलाकार), न्यायरा प्रसाईं र हार्दिक पौडेल लगायतका कलाकारहरूको अभिनय रहेको छ।
गीतको अडियो पक्ष पनि निकै सशक्त छ। यस गीतमा नित्याशिवा र कृष्ण भट्टराई को सुमधुर स्वर रहेको छ, जसलाई डा. ओम कृष्ण प्रसाईं ले शब्दमा उतारेका छन्। गीतमा शंकर अधिकारी “घायल” को मनछुने संगीत रहेको छ भने संगीत संयोजन सञ्जय हमाल ले गरेका हुन्। यस गीतको रेकर्डिङ, मिक्सिङ र मास्टरिङ मनोज डङ्गोलले २१ स्टुडियो, अनामनगरमा गरेका हुन्।
शंकर अधिकारी “घायल” ले लेखन तथा निर्देशन गरेको यो चलचित्र कर्मवीर मल्टीपर्पस इन्भेस्टमेन्ट ले प्रस्तुत गरेको हो। चलचित्रको निर्माण डा. ओम कृष्ण प्रसाईं र मोहन गमाल ले ममता रायमाझीको ब्यानरमा गरेका हुन्। सुरेश पाण्डेको कोरियोग्राफी रहेको गीतको छायाङ्कन कुमार मानन्धरले गरेका हुन् भने सम्पादन तथा कलर राजेश कुमार ले भिडियो बैंक पोस्टमा गरेका छन्। यो रोमान्टिक गीतले चलचित्र ‘सुस्केरा’ प्रति दर्शकहरूको कौतुहलता बढाएको छ।
