ठूलो लफडापछि सम्झौता: बहुप्रतिक्षित ‘लडाइँ पहिचानको’ मंसिर ५ गतेबाट प्रदर्शनमा
ईटहरी । सेन्सर बोर्डले ‘सिन’ काट्न लगाएपछि र गृह सचिवले प्रदर्शन अनुमति रोक्ने प्रपञ्च गर्दा ठूलो लफडा मा फसेको बहुप्रतिक्षित नेपाली चलचित्र ‘लडाइँ पहिचानको’ अन्ततः सम्झौतामा आएर प्रदर्शन हुने भएको छ। भिम लामा फिल्मस् प्रा.लि.को ब्यानरमा निर्मित यो चलचित्र यही मंसिर ५ गतेबाट देशभर प्रदर्शन हुने भएको हो।
चलचित्रका निर्माता तथा निर्देशक भीम लामाले सामाजिक सञ्जालमार्फत यो जानकारी दिँदै राजनीतिक हस्तक्षेप र रोकतोकका बावजुद चलचित्र दर्शकमाझ ल्याउन सफल भएको बताएका छन्।
चलचित्र प्रदर्शनको घोषणा गर्न आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, इटहरी उपमहानगर समितिका अध्यक्ष चिराहाङ राई को प्रमुख आतिथ्य रहेको थियो। यो उपस्थितिबाट चलचित्रले आदिवासी जनजाति समुदायको पहिचानको लडाइँलाई उठाएको विषयलाई थप बल मिलेको छ।
कार्यक्रममा चलचित्रका निर्माता रामजी विष्ट, दिलु सुब्बा, कलाकार दिनेश कोइराला, कार्यक्रम संयोजक सुबास योन्जन तामाङ लगायतले ‘लडाइँ पहिचानको’ ले उठाएका गम्भीर सामाजिक र पहिचानका विषयवस्तुमाथि प्रकाश पारेका थिए। निर्देशक नवीन गुरुङ उर्फ गुरुङ सोल्टी र मनोज तामाङले चलचित्रको सफलताको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन चलचित्रका गायक समेत रहेका पत्रकार मनोज दाहालले गरेका थिए।
चलचित्र ‘लडाइँ पहिचानको’ मा नेपाली चलचित्र जगतका स्थापित अनुहारहरू नायिका करिश्मा मानन्धर, नायक धिरेन शाक्य, इन्डियन आइडल विजेता प्रशान्त तामाङ लगायतका चर्चित कलाकारहरूको अभिनय रहेको छ।
निर्देशक भीम लामाको निर्देशन तथा पटकथा लेखन रहेको यस चलचित्रमा राजेन्द्र खड्गी, सुरवीर पण्डित, जेनी घिसिङ, प्रेम सुब्बा, किशोर सम्बाहाम्फे, नवीन मेन्याङ्बो, परशुराम चौधरी सहित दिलु सुब्बा, शर्मिला राई, सुबास योन्जन तामाङ, अरुण प्रधान, दिनेश कोइराला, रामजी बिष्ट, र दिलकुमारी पयाङ्गु जस्ता सशक्त कलाकारहरूको महत्त्वपूर्ण अभिनय रहेको छ।
चलचित्रको निर्माणमा भीम लामा, रामजी विष्ट, दिलु सुब्बा, र उमेश तामाङ रहेका छन् भने नृत्य निर्देशन मणिकुमार लिम्बू र सानुराजा थेगिम ले गरेका छन्।
