चलचित्र निर्माता संघमा उदय सुब्बाको उदय, सुनिल पछारिए

0

निर्माताहरूबीच मुख्य पदमा प्रतिस्पर्धा भए पनि कार्यसमिति निर्माणमा भने सहमति जुटेको देखाउँछ ।

Udaya-and-Khagendra

काठमाडौं । नेपाल चलचित्र निर्माता संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अनुभवी फिल्मकर्मी उदय सुब्बा विजयी भएका छन् ।

निवर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्षसमेत रहेका सुब्बाले आफ्ना निकटतम प्रतिद्वन्द्वी सुनिलकुमार थापालाई २७ मतको अन्तरले पराजित गर्दै संघको अध्यक्ष पदमा आफ्नो बलियो पकड बनाएका हुन् । संघको चुनावी साधारणसभामा खसेको कुल २८० मतमध्ये सुब्बाले १५३ मत प्राप्त गरेका थिए ।

यसैगरी, महासचिवमा चर्चित अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने संघको महासचिवमा विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी किरण नेपाललाई २७ मतान्तरले पराजित गरेका हुन् । १५२ मत ल्याएर विजयी भएका लामिछानेको जितले निर्माता संघमा अब कलाकारको भूमिका पनि महत्त्वपूर्ण हुने संकेत गरेको छ ।

रौनकविक्रम कँडेलज्योतिराज राई उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् भने निर्माता रामप्रसाद रिजाल कोषाध्यक्ष पदमा निर्विरोध चयन भएका छन् । सचिवमा युवराज गिरी निर्विरोध चयन भएका छन् ।

कार्यसमितिका ७ जना सदस्य पनि सर्वसम्मतले चयन भएका छन् । यसले निर्माताहरूबीच मुख्य पदमा प्रतिस्पर्धा भए पनि कार्यसमिति निर्माणमा भने सहमति जुटेको देखाउँछ ।

चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी, श्रीधर पौडेल, मनोजकुमार अधिकारी, प्रवीण कार्की, घनेन्द्र थपलिया तथा राजकुमार पण्डित सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् । नौ जना सदस्यमा सात जनाको मात्र उम्मेदवारी परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *