राजनैतिक दल सम्बद्ध पत्रकार संगठनहरूको “विकासविरोधी रोइलो”लाई गोर्खा भूपू सैनिक संघहरूको ठाडो चुनौती !
सानो गुनासोलाई अतिरञ्जित पारामा उछालेर रोइलो काट्दै प्रेस विज्ञप्ती निकाल्नु विकास विरोधीहरुको काम । – गोर्खा भूपू सैनिक संघहरूको संयुक्त विज्ञप्ति
धरान (सुनसरी) । धरानको विकास र गोर्खाली एकताको प्रतीक मानिएको “गोर्खा चौतारी”को उद्घाटन समारोहमा महिला प्रतिनिधि शशी थापा सुब्बाले दिएकी अभिव्यक्तिलाई लिएर राजनैतिक दल सम्बद्ध पत्रकार संगठनहरूले जारी गरेको विज्ञप्तिको सन्दर्भमा गोर्खा भूपू सैनिक संघहरूले संयुक्त वक्तव्यमार्फत कडा जवाफ फर्काएका छन् ।
सानो गुनासोलाई अतिरञ्जित पारामा उछालेर रोइलो काट्दै प्रेस विज्ञप्ती निकाल्नु विकास विरोधीहरुको काम भएको ठम्याई गर्दै भारतीय, सिंगापुर र ब्रिटिशका गोर्खा भूपू सैनिक संघहरूले एकै स्वरमा विज्ञप्ति जारी गर्दै “विकास विरोधी” कार्यको निन्दा गरेका छन् ।
योगदानलाई नजरअन्दाज नगर्न चेतावनी दिदै विज्ञप्तिमा घोपा क्याम्पको स्थापनादेखि धरानको हरेक क्षेत्रको विकासमा गोर्खाली समुदायको प्रत्यक्ष र अमूल्य सहभागिता रहेको उल्लेख छ ।
ऐतिहासिक सहभागिताको रुपमा घोपा क्याम्प स्थापनासँगै धरानको विकासमा गोर्खालीहरूको प्रत्यक्ष योगदान रहेको, “गोर्खालीहरूको एकताको उदाहरणका रूपमा गोर्खा चौतारीको निर्माण एकता प्रतिक भएको” र “चौतारी धरान उपमहानगरपालिकालाई मात्र नभई समग्र धरानलाई तीनवटै ब्रिगेडका गोर्खा भूतपूर्व सैनिकहरूको अमूल्य उपहार हो ।” भनि सम्झाएका छन् ।
गोर्खा चौतारीको निर्माण सम्पन्न भएपश्चात् धरानलाई हस्तान्तरण गर्ने पवित्र कार्यलाई हर्षित भएर स्वागत गर्नुको सट्टा, सामान्य गुनासोलाई “अतिरञ्जित” गरेर रोइलो काट्नु दुर्भाग्यपूर्ण भएको भूपू सैनिकहरूको ठहर छ।
विज्ञप्तिमा शशी थापा सुब्बाले मूलधारका पुराना पत्रकारहरूलाई व्यक्तिगत रूपमा बोलाउँदा पनि उपस्थित नभएकोमा चित्त दुखाउँदै भाइभतिजहरूलाई लक्षित गरेर गरेको गुनासोलाई सबै सञ्चारकर्मीलाई भनिएको भन्दै भ्रमपूर्ण विज्ञप्ति जारी गरिएकोमा दुःख व्यक्त गरिएको छ।
भूपू सैनिक संघहरूले राजनीतिक दृष्टिकोणले मात्र हेर्ने दलका भातृ संगठनहरूमा आबद्ध सञ्चारकर्मीहरूप्रति कडा असन्तुष्टि जनाएका छन्।
दलका भातृ संगठनहरुमा आवद्ध संचारकर्मीपत्रकारहरुले राजनीतिक पूर्वाग्रहको आधारमा पत्रकारिताको धर्म, मर्म र कर्तव्य बिर्सिएको आरोप लगाउदै विज्ञप्ति मार्फत भनिएको छ, राजनीतिक दृष्टिकोणले मात्र हेर्ने दलका भातृ संगठनहरुमा आवद्ध संचारकर्मीहरुलाई अब आइन्दा हाम्रो संरचनाहरु र हामीले गर्ने कुनै पनि कार्यक्रमहरुमा उपस्थितिको महत्व नहुने हामीले पनि ठानेका छौं । शशी थापा सुब्बाले कार्यक्रममा भूपू लाहुरेहरूको कामलाई मेयर हर्क साम्पाङसँग जोडेर पत्रकारहरूले राजनैतिक नजरुले हेरेको टिप्पणी गरेकी थिइन्। उनको अभिव्यक्तिपछि एमाले, कांग्रेस र माओवादी सम्बद्ध पत्रकार संगठनहरूले माफी माग्नुपर्ने भन्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरेका थिए ।
गोर्खा भूपू सैनिक संघहरूको यस संयुक्त र कडा विज्ञप्तिले धरानमा गोर्खाली समुदाय र राजनैतिक दल सम्बद्ध पत्रकारहरूबीचको विवादलाई नयाँ र गम्भीर मोड दिएको छ।
के भनेका थिए राजनैतिक दल सम्बद्ध पत्रकार संगठनहरूले ?

‘अपमानजनक अभिव्यक्ति’ सच्याउन र माफी माग्न राजनैतिक दल सम्बद्ध पत्रकार संगठनहरूको संयुक्त माग
धरान । गोर्खा चौतारी उद्घाटन कार्यक्रममा महिला प्रतिनिधि शशी थापा सुब्बाले पत्रकारिता पेशा र पत्रकारमाथि गरेको टिप्पणीलाई लिएर धरानका प्रमुख तीन राजनैतिक दल सम्बद्ध पत्रकार संगठनहरूले कडा आपत्ति जनाएका छन् । नेकपा (एमाले) निकट प्रेस चौतारीका अध्यक्ष विकल पौडेल, नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टरका अध्यक्ष तीर्थ कार्की, र नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनका अध्यक्ष ध्रुव ढकाल ले संयुक्त रूपमा विज्ञप्ति प्रकाशित गर्दै उक्त अभिव्यक्तिलाई ‘अपमानजनक’ भनेका छन् ।
कार्यक्रममा ‘लाहुरेको घरको चामल खाएर पत्रकारिता पढेको, लाहुरेकै घरमा सस्तो भाडामा बसेर पत्रकारिता गरेको’ भन्ने अभिव्यक्ति पत्रकारिताको मर्यादा र जिम्मेवारीमाथि गरिएको आपत्तिजनक टिप्पणी भन्दै पत्रकार संगठनहरूले यो टिप्पणीलाई सम्पूर्ण पेसाकर्मीको मनोबल गिराउने र पत्रकारिताको स्वतन्त्रतामाथि प्रश्न उठाउने हर्कतका रूपमा लिएका छन्। उनीहरूले तत्काल उक्त टिप्पणी सच्याउन र सार्वजनिक रूपमा क्षमायाचना गर्न माग गरेका छन् ।
यो विज्ञप्ति फेशबुक लगायतका सामाजिक संजालमा केही पत्रकारहरुले निरन्तर लेखेपछि मात्र जारी भएको हो ।
