मोरङमा थारु ऐतिहासिक गाथा ‘बहौरिया’ को भव्य शुभआरम्भ
नेपालमै पहिलोपटक थारु समुदायको कला, संस्कृति र ऐतिहासिक परिवेशलाई मूल कथावस्तु बनाएर निर्माण हुन लागेको कथानक चलचित्र ‘बहौरिया (बेहुली)’ को छायांकन कोशी प्रदेशको मोरङमा औपचारिक रूपमा सुरु भएको छ।
निर्देशक परशुराम चौधरी र रेणु चौधरीले कथा लेखेको तथा परशुराम चौधरीले निर्देशन गरिरहेको यो फिल्मले थारु समाजको ४०-५० वर्ष पुरानो जमिन्दारी प्रथा, विवाह प्रणाली, खेतीपातीको तरिका र सामाजिक असमानताको मार्मिक चित्रण गर्दै आधुनिक समयसम्म आइपुग्दा भएको सामाजिक-आर्थिक रूपान्तरणको कथालाई पर्दामार्फत् उजागर गर्नेछ ।
नेपाल म्याक्सको प्रस्तुतिमा रिशन चौधरी र खुश्बु चौधरीले निर्माण गरिरहेको यस चलचित्रमा वीर चौधरी (कैलालीका चर्चित मोडल) र ममता चौधरी (नवलपरासीकी लोकप्रिय मोडल तथा डान्सर) ले मुख्य भूमिकामा औपचारिक डेब्यु गरेका छन्।
उनीहरूसँगै निर्देशक स्वयं, रेणु चौधरी, प्रदीप बास्मैत, र गायिका संगिता चौधरी (अभिनयमा डेब्यु) लगायत थारु समुदायकै कलाकारहरूको बाक्लो सहभागिता रहेको छ।
कोशी प्रदेशका थारु बस्ती र सुन्दर पर्यटकीय स्थलहरूमा छायांकन भइरहेको यो फिल्म आगामी तीन-चार महिनाभित्र निर्माण सम्पन्न गरी देशभरका हलहरूमा प्रदर्शन गर्ने लक्ष्य निर्माण टिमले लिएको छ।

