संजीप तिम्सिना (भोजपुरी) । सुन्दरहरैंचा (मोरङ)
“लागू पदार्थ दुर्व्यसन वा अन्य जोखिमका कारण एच.आई.भी. संक्रमणको सम्भावना भएका बिरामीहरूको लागि यो परीक्षण र परामर्श सेवा अत्यन्तै महत्वपूर्ण मानिन्छ ।”, संयोजक खत्री
सुन्दरहरैंचा–३ स्थित आश्रय सुधार तथा उपचार केन्द्रमा आश्रित बिरामीहरूको स्वास्थ्यलाई ध्यानमा राखी एक विशेष स्वास्थ्य परीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
“यो पहलले सुधार केन्द्रहरूलाई केवल उपचार स्थल मात्र नभई सामाजिक उत्तरदायित्व बहन गर्ने संस्थाको रूपमा स्थापित गर्न प्रेरित गरेको छ ।”, केन्द्रका संयोजक सेवक (सेबक) खत्रीले भन्नुभयो, “हामी यस किसिमका सेवामा निरन्तर छौं ।”
कार्यक्रममा सुधार केन्द्रमा रहेका उपचारार्थ बिरामीहरूको समग्र स्वास्थ्य अवस्था परीक्षण गरिनुका साथै विशेषगरी एच.आई.भी. (HIV) जाँच र त्यससँग सम्बन्धित आवश्यक परामर्श प्रदान गरिएको, उहाँले बताउनुभयो ।
“लागू पदार्थ दुर्व्यसन वा अन्य जोखिमका कारण एच.आई.भी. संक्रमणको सम्भावना भएका बिरामीहरूको लागि यो परीक्षण र परामर्श सेवा अत्यन्तै महत्वपूर्ण मानिन्छ ।”, संयोजक खत्रीको कथन छ, “सुधार केन्द्रमा रहेका हरेक बिरामीको शारीरिक र मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता हो। एच.आई.भी. जस्ता संवेदनशील स्वास्थ्य समस्याको समयमै पहिचान र परामर्शले उहाँहरूको जीवनरक्षामा ठूलो फरक पार्छ। यो हाम्रो सामाजिक दायित्व पनि हो।”
स्वास्थ्य जाँचमा सहभागी बिरामीहरूले निःशुल्क परीक्षण र मनोसामाजिक परामर्श पाएर ठूलो राहत महसुस गरेको प्रतिक्रिया दिएका छन् ।
उनीहरूले यस किसिमका विशेष स्वास्थ्य सेवाले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने र उपचार केन्द्रप्रतिको विश्वास बढाउने विश्वास व्यक्त गरे ।
स्वास्थ्य परीक्षणपछि रोगको पहिचान, रोकथाम र आवश्यक कदमका लागि केन्द्रले समन्वय गर्ने खत्रीले जानकारी गराउनुभयो ।
उहाँले आश्रय सुधार तथा उपचार केन्द्रको यो विशेष पहलले स्वास्थ्य सेवालाई सामाजिक उत्तरदायित्वसँग जोड्दै जोखिममा रहेका समूहलाई आधारभूत स्वास्थ्य अधिकार सुनिश्चित गर्नमा महत्वपूर्ण भूमिका खेलेको दाबी गर्नुभयो ।
