तमु ह्युल छोँज धींद्वारा नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना

0
ktm news2

काठमाडौँ तमु ह्युल छोँज धीं (गुरुङ राष्ट्रिय परिषद्) केन्द्रीय कार्यालय, काठमाडौँको आयोजनामा एक विशेष बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । काठमाडौँ जिल्ला अन्तर्गत सरकारी उच्च ओहोदामा पुग्न सफल व्यक्तित्वहरू तथा अनुसूची ७ मा दर्ता भएका विभिन्न तमु संघ-संस्थाका नयाँ नवनिर्वाचित कार्यसमितिका अध्यक्ष एवं पदाधिकारीहरूलाई स्वागत तथा बधाई ज्ञापन गर्न उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

यसै क्रममा, खोटाङ जिल्लाबाट काठमाडौँमा बसोबास गर्दै आएका समस्त गुरुङ समुदायको साझा छाता संगठन ‘खोटाङ गुरुङ तमु सेवा समाज काठमाडौँ’ लाई पनि कार्यक्रममा विशेष सम्मान र बधाई ज्ञापन गरिएको छ । जिल्लाबासी तमुहरूलाई एकताबद्ध बनाउँदै सामाजिक कार्यमा पुर्‍याएको योगदानको कदर गर्दै समाजलाई उक्त सम्मान प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गृह मन्त्री सुदन गुरुङ आउने कार्यतालिका रहे तापनि कार्यव्यस्तताका कारण उहाँ उपस्थित हुन सक्नुभएन । प्रमुख अतिथिको अनुपस्थिति रहे तापनि तमु ह्युल छोँज धींका अध्यक्ष धनमान गुरुङको अध्यक्षता तथा पूर्व अध्यक्ष एवं वरिष्ठ समाजशास्त्री प्रा. डा. गणेशमान गुरुङको विशेष आतिथ्यमा कार्यक्रम सभ्य र भव्य रूपमा सञ्चालन भएको थियो ।

कार्यक्रममा बोल्दै वक्ताहरूले तमु समुदायको हक-हित, भाषा, संस्कृति संरक्षण र संस्थागत विकासका लागि नवनिर्वाचित कार्यसमितिहरूले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा काठमाडौँमा क्रियाशील विभिन्न तमु संघ-संस्थाका प्रतिनिधि, बुद्धिजीवी तथा भद्रभलादमीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *