दशैँको भव्य उत्सव: माल्टामा ‘मंकी टेम्पल’ ब्यान्डको निःशुल्क लाइभ कन्सर्ट सम्पन्न
माल्टा। नेपालीहरूको महान पर्व बडा दशैंको अवसर पारेर नेपाली समाज माल्टा (NSM) को आयोजनामा माल्टामा नेपालको चर्चित रक ब्यान्ड ‘मंकी टेम्पल’ को भव्य लाइभ कन्सर्ट सफलतापूर्वक सम्पन्न भएको छ।
अक्टोबर २ तारिखका दिन माल्टाको जिरामा रहेको ओप्रियम थियटर (Oprium Theatre) मा आयोजित दशैं विशेष कार्यक्रम तथा कन्सर्टमा माल्टावासी नेपाली दर्शकहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो।
नेपाली समाज माल्टाले जनाएअनुसार, रक गीतसंगीतको माध्यमबाट ख्याति कमाइसकेको मंकी टेम्पल ब्यान्डका कलाकारहरूको टोलीले लाइभ कन्सर्टमार्फत माल्टामा रहेका नेपाली दर्शकहरूलाई भरपुर मनोरञ्जन दिएका थिए।
‘बडा दशैंको रंगस नेपाली समाज माल्टा संग’ भन्ने मूल नाराका साथ आयोजना भएको यो कार्यक्रम अत्यन्तै छोटो समयमा भव्य मात्र नभई सफल पनि बनेको नेपाली समाज माल्टाका अध्यक्ष ज्ञानबहादुर लामाले बताएका छन्।
“निःशुल्कमा गरिएको यो कार्यक्रमले ऐतिहासिक रूपमा हामी नेपालीहरूको महान दशैंलाई अझ यादगार बनाएको छ,” अध्यक्ष लामाले भने। उनले रोजगारीको सिलसिलामा माल्टामा रहेका सम्पूर्ण नेपाली समुदाय स-परिवार उपस्थित भई कन्सर्ट भव्य भएकोमा खुसी व्यक्त गरे। उनले थपे, “यो लाइभ कन्सर्टले नेपाली समुदायका लागि दशैंमा भेटघाट मात्र जुराएन, मनोरञ्जन पनि गरायो, यसले एक याद बनाएको महसुस गरेको छ।”
अध्यक्ष लामाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै सहभागी, सहयोगी र विशेषगरि प्रायोजकहरूलाई धन्यवाद ज्ञापन गरेका छन्।
कन्सर्टमा मंकी टेम्पल ब्यान्डका प्रमुख सुरेन देउजाको नेतृत्वमा कलाकारहरूले ‘समय बितेको’, ‘हाम्रो नेपाल’, ‘संगै बाँचौला’, ‘गहिरो’, ‘अनुमती’, ‘समय अजम्बरी’ लगायत चर्चित गीतहरू प्रस्तुत गरेका थिए।
कार्यक्रममा NSM का कलाकारहरूले नृत्य प्रस्तुती गर्नुका साथै माल्टामा नै रहेको अर्को नेपाली ब्यान्ड एनएमबी (NMB) ले पनि प्रस्तुती दिएको थियो।
भव्य रूपमा सम्पन्न कन्सर्टको व्यवस्थापनमा उपाध्यक्ष दिनेश संजेल कार्यक्रम संयोजक र महिला उपाध्यक्ष किरण तामाङ सह-संयोजिकाको भूमिकामा रहेका थिए।
कार्यक्रमलाई महासचिव किरण बुढाथोकी र सदस्य दिक्क्षा आचार्यले सञ्चालन गरेका थिए। व्यवस्थापनतर्फ उपाध्यक्ष राजु विश्वकर्मा (सुरक्षा व्यवस्थापन प्रमुख), प्रवक्ता रवीन्द्र ढकाल (प्रिन्ट तथा डिजिटल व्यवस्थापन), कोषाध्यक्ष श्रृजना श्रेष्ठ (कला तथा सांस्कृतिक व्यवस्थापन संयोजिका), महिला संयोजिका चन्द्रकला दुलाल (कला तथा सांस्कृतिक व्यवस्थापन उप संयोजिका) र मिडिया संयोजक निकेश श्रेष्ठ लगायतको टोली सक्रिय रहेको थियो।
थप तस्बिरहरूका लागि यहाँ क्लिक गर्नुहोस्
