तरहरा । धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङ राई बुधबार तरहरा आउदै हुनुहुन्छ । आगामी निर्वाचनको तयारीमा देशव्यापी रूपमा संगठन विस्तार अभियान गरिरहनुभएका मेयर साम्पाङ तरहरामा आउनुलाई चाखलाग्दो रुपमा हेरिएको छ ।
क्याप्टेन धन कुमार राईले दिनुभएको जानकारी अनुसार मेयर साम्पाङको उपस्थितिमा तरहरा बजारको बास्केटबल ग्राउन्डमा दिउँसो १ बजे एक विशेष भेटघाट कार्यक्रम आयोजना हुनेछ ।

“यस भेटघाटमा मेयर साम्पाङले स्थानीय जनसमुदायलाई विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।”, भारतीय सेनाका पूर्व क्याप्टेन धन कुमार राईले भन्नुभयो, “समय रहेको अवस्थामा प्रत्यक्ष रूपमा अन्तरक्रिया कार्यक्रम पनि राख्ने योजनामा छौं ।”
मेयर साम्पाङले आफ्नो कार्यकालमा धरानमा खानेपानी लगायतका क्षेत्रमा गर्नुभएका श्रममा आधारित कामहरूलाई देशव्यापी अभियानको रूपमा अगाडि बढाउँदै आउनुभएको छ ।
श्रम संस्कृति पार्टी समेत स्थापना गरी देश तथा विदेशमा आफ्नो संगठन समेत विस्तार गरिरहनुभएकोले तरहरामा पनि श्रम संस्कृति पार्टी निमार्ण गरिने हल्ला छ ।
नेपालमा हालै ुजेनजी आन्दोलनु मार्फत केपी ओली नेतृत्वको सरकार अपदस्थ भएको र त्यसलगत्तै फागुनमा मध्यावधि चुनाव हुने घोषणा गरिएकाले मेयर साम्पाङको यो सक्रियतालाई सोही चुनावसँग जोडेर हेरिएको छ।
परम्परागत राजनीतिक दलहरूबाट आजित भएका जनमतलाई आफ्नो पक्षमा पार्न साम्पाङले आफ्नो क्रान्तिकारी अभियानलाई तीव्र पारेको अनुमान गरिएको छ।
आगामी निर्वाचनमा सबै स्थानीय तह र निर्वाचन क्षेत्रहरूमा उम्मेदवारी दिने घोषणा गरिसकेका मेयर साम्पाङका लागि यो भेटघाट कार्यक्रम ुश्रम संस्कृतिको राजनीतिु लाई जनता माझ पुऱ्याउने महत्त्वपूर्ण अवसर हुनेछ।
क्याप्टेन राईले तरहराका सम्पूर्ण नागरिक तथा शुभचिन्तकहरूलाई कार्यक्रममा उपस्थित हुनको लागि विशेष अनुरोध गर्नुभएको छ ।

