तरहरा। देशको वर्तमान विषम परिस्थिति र जटिलताका बाबजुद पनि तरहरा जेसीजले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि आफ्नो वार्षिक ‘जेसीज सप्ताह’ कार्यक्रमलाई जेसीजको परम्परा अनुसार, समुदायमै भव्यताका साथ मनाउन सुरु गरेको छ।
आज, असोज २५ गतेदेखि कार्तिक १ गतेसम्म हुने जेसीज सप्ताह २०२५ को सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन स्लो बाइक रेस (ढिलो बाइक दौड) सफलतापूर्वक सम्पन्न भएको छ।
मूल संयोजक रोशन भुजेलका अनुसार, आज सम्पन्न स्लो बाइक रेसमा मोटरसाईकल रेस तर्फ ओनिस अधिकारी विजेता बन्न सफल भए भने स्कुटर तर्फको उपाधि सान्ता काफ्लेले जितिन्।
भूजेलका अनुसार, यस्ता क्रियाकलापले समाजमा सकारात्मक सन्देश दिनुका साथै युवाहरूलाई रचनात्मक कार्यमा संलग्न गराउन मद्दत पुर्याउनेछ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोलि आइतबार रक्तदान कार्यक्रम हुनेछ। त्यस्तै, अन्य दिनहरूमा वक्तृत्व कला प्रतियोगिता, मैत्रीपूर्ण फुटबल खेल, चेस प्रतियोगिता, लोक नृत्य प्रतियोगिता र तम्बोला (हाउजी) खेल लगायतका कार्यक्रमहरू आयोजना गरिनेछन्।
संस्थाले विभिन्न रचनात्मक तथा सामाजिक हितका कार्यक्रमहरू गर्दै आएको महासचिव ओम कुमार खड्काले बताए।
उनले भने, “जस्तोसुकै अवस्थामा पनि जेसीजले आफ्नो सामाजिक दायित्व भुल्दैन। युवाहरूको उत्साह र सक्रियताले नै यो कार्यक्रमलाई सफल बनाउन सम्भव भएको हो।”
अध्यक्ष दाहालले चुनौतीपूर्ण समयमा पनि सामाजिक अभियानलाई निरन्तरता दिँदै समुदायलाई एकजुट बनाउने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, “हरेक वर्ष समाजमा सकारात्मक ऊर्जा र सन्देश प्रवाह गर्दै आएको यो सप्ताहव्यापी कार्यक्रम देशको वर्तमान विषम परिस्थिति र जटिलताका बाबजुद पनि गर्नु नै हाम्रै लागि सफलता हुनेछ।”
सप्ताहको पहिलो दिनको कार्यक्रमका प्रमुख अतिथि सुवास हमाल (डी.एस.पी.) रहेका थिए भने कार्यक्रम संयोजकको भूमिकामा प्रभाव कटवाल रहेका थिए।
पहिलो दिनको ‘स्लो बाइक रेस’ कार्यक्रममा सामाजिक तथा राजनीतिक क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा वडा अध्यक्ष तथा पूर्व तरहरा जेसीज अध्यक्ष मणीराम श्रेष्ठ, वडा सदस्य तनुज गुरुङ, वडा सदस्य धर्म गिरी, जनसहयोग कलेका प्रमुख एवम् तरहरा जेसीज पूर्व अध्यक्ष दोर्ण न्यौंपाने, तरहरा जेसीजको इतिहासकी पहिलो महिला अध्यक्ष रिता आचार्य भूषाल, उद्योग वाणिज्य संघ, इटहरी, सुनसरीको तरहरा शाखा अध्यक्ष सुदर्शन खड्का लगायतका लगायत सामाजिक संघसंस्थाका प्रतिनिधिहरू, स्थानीय बुद्धिजीवी र युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
उनीहरूको सहभागिताले कार्यक्रमको शोभा बढाएको थियो।




तस्वीरहरु, सबै: रोशन भूजेल । उनी कार्यक्रम मूल संयोजक तथा तरहरा जेसीजका कार्यकारी उपाध्यक्ष हुन् ।
