खोटाङ गुरुङ (तमू) सेवा समाज काठमाडौँको अध्यक्षमा होमनाथ गुरुङ पुनः सर्वसम्मत निर्वाचित
नवनिर्वाचित अध्यक्ष होमनाथ गुरुङले गोर्खा खबरसँग कुरा गर्दै आफ्नो दोस्रो कार्यकाललाई थप जिम्मेवारी र सामाजिक कार्यका लागि ठूलो अवसरको रूपमा स्वीकार गरेको बताउनुभएको छ; उहाँले आफ्नो अधुरा एजेन्डा र भिजनलाई पूरा गर्ने, समुदायलाई एकताबद्ध बनाउने र अधिकार तथा समृद्धिका लागि निरन्तर लागिपर्ने प्रतिवद्धता जनाउँदै सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको छ।
काठमाडौँ । खोटाङ गुरुङ (तमू) सेवा समाज काठमाडौँको १७ औँ वार्षिक साधारण सभा तथा ७ औँ ऐतिहासिक महाधिवेशनबाट सामाजिक व्यक्तित्व होमनाथ गुरुङज्यू आगामी कार्यकालका लागि अध्यक्ष पदमा पुनः सर्वसम्मत निर्वाचित हुनुभएको छ। काठमाडौँको सुकेधारास्थित नव बुद्ध गुरुङ गुम्बामा भव्य रूपमा सम्पन्न उक्त गरिमय समारोहबाट गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको हो।
खोटाङेली तमू समुदायको भाषा, कला, लिपि र सांस्कृतिक पहिचानको संरक्षण तथा संवर्द्धनमा निरन्तर क्रियाशील रहँदै आउनुभएका गुरुङको नेतृत्वलाई महाधिवेशनमा उपस्थित करिब २५० जना आजीवन तथा साधारण सदस्यहरूको पूर्ण समर्थनमा पुनः अटुट विश्वासका साथ अनुमोदन गरिएको हो।
उक्त ऐतिहासिक महाधिवेशनमा तमू हियुल छोँ धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय अध्यक्ष धनमान गुरुङ मुख्य अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो भने विशेष अतिथिका रूपमा संविधान सभा सदस्य हिरा गुरुङ र आदिवासी जनजाति आयोगका माननीय सदस्य सूर्यबहादुर गुरुङको गरिमामय उपस्थिति रहेको थियो।
नयाँ कार्यसमिति चयनका लागि गठित निर्वाचन आयोगको प्रमुखमा संस्थापक अध्यक्ष नारायणकाजी गुरुङ, सदस्यमा संस्थापक उपाध्यक्ष रामकाजी गुरुङ र अधिवक्ता ज्योति गुरुङ रहनुभएको थियो, जसले निर्वाचन प्रक्रियालाई सर्वसम्मत र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउनुभएको थियो।
अध्यक्ष गुरुङ केवल काठमाडौँमा मात्र नभएर मोफसलका सामाजिक तथा परोपकारी अभियानहरूमा पनि उत्तिकै सम्मानित र सक्रिय हुनुहुन्छ।
लामो समयदेखि खोटाङेली गुरुङ समुदायलाई गोलबद्ध गर्दै उहाँले पुर्याउनुभएको अतुलनीय योगदानकै उच्च कदर गर्दै हालै सम्पन्न ‘दोस्रो तरहरा उत्सव २०८२’ मा उहाँलाई भव्य रूपमा “कम्युनिटी हिरो अवार्ड” (Community Hero Award) द्वारा विशेष सम्मान समेत गरिएको थियो।
नवनिर्वाचित अध्यक्ष होमनाथ गुरुङको सबल, कुशल र ऊर्जावान् नेतृत्वमा खोटाङ गुरुङ (तमू) सेवा समाज काठमाडौँले आगामी दिनमा संस्थागत सुदृढीकरण र जातीय उत्थानका क्षेत्रमा अझ थप उचाइ हासिल गर्ने पूर्ण विश्वास लिइएको छ।
नवनिर्वाचित अध्यक्ष होमनाथ गुरुङले गोर्खा खबरसँग कुरा गर्दै आफ्नो दोस्रो कार्यकाललाई थप जिम्मेवारी र सामाजिक कार्यका लागि ठूलो अवसरको रूपमा स्वीकार गरेको बताउनुभएको छ; उहाँले आफ्नो अधुरा एजेन्डा र भिजनलाई पूरा गर्ने, समुदायलाई एकताबद्ध बनाउने र अधिकार तथा समृद्धिका लागि निरन्तर लागिपर्ने प्रतिवद्धता जनाउँदै सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको छ।




