बराहक्षेत्र-५ मा वर्षौँदेखि डुबानको सास्ती
बराहक्षेत्र, सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ अन्तर्गत पर्ने कालाबन्जार, लक्ष्मीपुर, खोल टोल लगायतका आसपासका क्षेत्रहरू विगत लामो समयदेखि वर्षायाममा डुबान र बाढीको चपेटामा पर्दै आएका छन् । अव्यवस्थित प्लटिङ, सडक विस्तार तथा प्राकृतिक कुलो र खोल्साहरू थुनिएका कारण सामान्य वर्षा हुँदा पनि स्थानीयका घर-घरमा पानी पस्ने, खेतीयोग्य जमिन नष्ट हुने र बालबालिकाको सुरक्षामा गम्भीर जोखिम बढ्दै गएको छ । यस विकराल समस्याले स्थानीय बासिन्दा, किसान, यातायात र स्थानीय उद्योगहरूको जनजीवन हरेक वर्ष कष्टकर बन्दै गएको छ।
यसै विषयलाई लिएर नेपाल पत्रकार महासंघ सुनसरीका सदस्य तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय सदस्य समेत रहेका स्थानीय पत्रकार प्रदीप बास्मैत चौधरीले पीडित जनताको आवाजलाई बुलन्द पार्दै नेतृत्व लिनुभएको छ। पत्रकार चौधरीले भन्नुभयो “बराहक्षेत्र–५ का जनताले वर्षौँदेखि डुबानको सास्ती खेपिरहेका छन्। यस जनसरोकारको गम्भीर मुद्दामा सम्बन्धित निकायलाई पटक–पटक मौखिक तथा लिखित रूपमा जानकारी गराउँदा पनि दीर्घकालीन समाधानका लागि कुनै ठोस पहल हुन सकेको छैन। यो केवल आश्वासनमा मात्र सीमित भयो। अब सञ्चारकर्मी साथीहरूले वास्तविक अवस्था र जनताको पीडालाई उजागर गर्दै निष्पक्ष र तथ्यपरक रूपमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुपर्छ, ता कि यहाँका बासिन्दाले स्थायी रूपमा न्याय पाउन सकून्।”
विगतका आर्थिक वर्षहरूमा पानी निकासका लागि बजेट विनियोजन भए पनि उपभोक्ता समिति र स्थानीय सरकारको समन्वय अभावका कारण काम अलपत्र परेको स्थानीयको गुनासो छ । पछिल्लो समय प्राविधिक अध्ययन र दीर्घकालीन योजना बिना नै सुरक्षाकर्मीको बल प्रयोग गरेर एकतर्फी रूपमा पानी बगाउन खोजिएपछि लक्ष्मीपुर र गौरी टोलबीच विवाद समेत चर्किएको थियो । स्थानीयवासीले तत्काल १० देखि १२ लाख रुपैयाँ बजेट विनियोजन गरी सडकको दुवैतर्फ मापदण्डअनुसारको वैज्ञानिक र स्थायी नाला निर्माण गर्न माग गरेका छन् ।
स्थानीय जनताको अधिकार र न्यायका लागि पत्रकार प्रदीप बास्मैत चौधरीको नेतृत्वमा सुरु भएको यो दबाबमूलक अभियानले यदि स्थानीय सरकारबाट उचित सुनुवाइ नगरेमा जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र संघीय सरकारसम्म पुगेर न्यायको ढोका ढकढक्याउने चेतावनी पीडित पक्षले दिएका छन् ।
