गृहमन्त्री गुरुङद्वारा ‘जनता केन्द्रित चुस्त सेवा’ दिन निर्देशन
गोर्खा खबर । धनकुटा
शान्ति सुरक्षाको अवस्था बुझ्न र गृह प्रशासनलाई थप सुदृढ बनाउन देशव्यापी दौडाहामा रहेका माननीय गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रहरी कार्यालय धनकुटाको विशेष निरीक्षण तथा भ्रमण कार्यक्रम सम्पन्न गर्नुभएको छ। उक्त निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले जिल्लाको समग्र सुरक्षा व्यवस्था, जनशक्ति परिचालन र नागरिक सेवाको अवस्थाबारे स्थलगत जानकारी लिनुभएको हो।
कार्यालयमा पाल्नुभएका गृहमन्त्री गुरुङले जिल्ला प्रहरी कार्यालय धनकुटाको डिउटी अधिकृत कक्ष, अपराध अनुसन्धान शाखा, हिरासत कक्ष लगायत सम्पूर्ण शाखाहरूको भौतिक पूर्वाधार र कार्यप्रणालीको सूक्ष्म अवलोकन गर्नुभएको थियो।
उहाँले २४ सै घण्टा जनताको गुनासो सुन्ने डेस्कको प्रभावकारिता, मुद्दाको अनुसन्धान प्रक्रिया, प्रमाण संकलनमा प्रविधिको प्रयोग र थुनुवाहरूको मानवअधिकारको अवस्था जस्ता संवेदनशील विषयहरूमा कार्यालयको समग्र गतिविधिहरूको नजिकबाट निरीक्षण गर्नुभयो।
निरीक्षणपश्चात् आयोजित ब्रिफिङ कार्यक्रममा प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले परम्परागत कार्यशैली परिवर्तन गरी जनमुखी र छरितो सेवा प्रवाहमा जोड दिनुभयो।
विभिन्न राष्ट्रिय सञ्चारमाध्यम र गोरखा खबरका अनुसार, मन्त्री गुरुङले अबका दिनहरूमा सेवाग्राहीहरूलाई पहिलो प्राथमिकतामा राखी उनीहरूको समस्या तत्काल पहिचान गर्न र झन्झटमुक्त ढंगले सेवा प्रवाहलाई निरन्तरता दिन निर्देशन दिनुभयो।
उहाँले प्रहरी कार्यालयमा न्याय र सुरक्षाको आश बोकेर आउने आम नागरिकलाई छिटो सेवा दिनु नै गृह प्रशासनको मुख्य लक्ष्य हुनुपर्ने कुरामा जोड दिनुभयो।
आम नागरिकमा प्रहरीप्रतिको विश्वास अभिवृद्धि गर्न र अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन निर्देशन दिँदै मन्त्री गुरुङले सीमित स्रोत-साधनका बीच पनि अहोरात्र खटिने प्रहरीहरूको मनोबल उच्च बनाउन मन्त्रालय सधैं सकारात्मक रहेको उल्लेख गर्नुभयो।
उक्त निरीक्षण कार्यक्रममा जिल्लाका उच्च सुरक्षा अधिकारीहरू, स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो।
