धरान रन केवल एउटा प्रतियोगिता मात्र नभई एउटा उत्सवको रूपमा विकास भइरहेको उल्लेख गर्दै सहभागी हुन इच्छुक सबैलाई ढिला नगरी दर्ता फारम भर्न र यो ऐतिहासिक दौडको हिस्सा बन्न हार्दिक आह्वान– उपाध्यक्ष अविनाश श्रेष्ठ
धरान, फागुन ८ (गोर्खा खबर): ‘शिक्षाको लागि दौड’ भन्ने पवित्र नाराका साथ धरानमा हरेक वर्ष आयोजना हुँदै आएको नेवा च्यारिटी रनको १४औँ संस्करण ‘गोफी धरान १० के रन २०२६’ आगामी फागुन ९ गते आयोजना हुने भएको छ।
आयोजक धरान रन समूहले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। यस वर्षको दौड विशेष गरी दिवङ्गत नन्दा कुमार राईको स्मृतिमा समर्पित गरिएको समूहका अध्यक्ष हेमन सुनुवारले बताए।
प्रतियोगितामा सहभागी हुने करिब ३५ सय धावक धाविकाहरूको सुरक्षालाई मध्यनजर गर्दै आयोजकले एक दिनका लागि १ लाख रुपैयाँसम्मको स्वास्थ्य बिमाको व्यवस्था समेत गरेको छ, जसले खेलाडीहरूमा थप उत्साह र सुरक्षाको अनुभूति दिलाएको छ।

यस पटकको दौडमा गोफी क्लोदिङ ब्राण्ड मुख्य प्रायोजकको रूपमा रहेको छ भने कार्यक्रमलाई थप सांगीतिक र उल्लासमय बनाउन चर्चित गायक राजु लामा र ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ की विजेता नीता थापा मगरको विशेष उपस्थिति रहनेछ।
प्रतियोगितामा खुल्ला तर्फका विजेता महिला तथा पुरुषले क्रमशः ६० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी, १३ र १६ वर्ष मुनिका उमेर समूह, मिड भेट्रान, सुपर भेट्रान र ह्विल चियर विधामा पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। स्थानीय धावकहरूलाई प्रोत्साहन गर्न ५ हजार बराबरको उपहार र सहभागी वडाअध्यक्षहरू मध्येबाट प्रथम हुनेलाई विशेष शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ।
यसै सन्दर्भमा गोर्खा खबरसँग कुरा गर्दै धरान रनका उपाध्यक्ष अविनाश श्रेष्ठले यस वर्षको संस्करण विगतका वर्षहरूभन्दा धेरै गुणा परिष्कृत, व्यवस्थित र मनोरञ्जनात्मक हुने दाबी गरे। उनले धरान रन केवल एउटा प्रतियोगिता मात्र नभई एउटा उत्सवको रूपमा विकास भइरहेको उल्लेख गर्दै सहभागी हुन इच्छुक सबैलाई ढिला नगरी दर्ता फारम भर्न र यो ऐतिहासिक दौडको हिस्सा बन्न हार्दिक आह्वान गरेका छन्।
