फुजिसान सगरमाथाको ‘स्पोटर्स मिट २०८२’ भव्य सुरु
इटहरी, ५ फागुन । इटहरीकै अग्रणी र नमुना शैक्षिक संस्थाको रूपमा स्थापित फुजिसान सगरमाथा बोर्डिङ स्कुलले आफ्नो वार्षिक खेलकुद महोत्सव ‘फुजिसान स्पोटर्स मिट २०८२’ भव्य समारोहका बीच सुरु गरेको छ। इटहरी–१९, भवानीपुरस्थित विद्यालयको आफ्नै खेलमैदानमा बुधबारदेखि सुरु भएको यो महोत्सव फागुन ८ गतेसम्म चल्नेछ।
कार्यक्रमको औपचारिक उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव केशव कुमार विष्टले गर्नुभएको थियो। उद्घाटन समारोहमा खेलकुदसहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
तरहरा रन परिवारले फुजिसान रनको प्राविधिक पक्षको जिम्मेवारी सम्हालेका थिए ।
समारोहलाई सम्बोधन गर्दै विद्यालयका अध्यक्ष लालबहादुर श्रेष्ठले आफ्नो जापान बसाइका अनुभवहरू स्मरण गर्नुभयो ।
“मैले सधैं खेलाडीहरूलाई खेलपछि आफ्नो मातृभूमि नेपाल फर्किएर देशको खेल क्षेत्रमा योगदान दिन आग्रह गर्ने गरेको थिएँ।” जापानमा रहेका बेला आफूले नेपालको प्रतिनिधित्व गरी खेल्न आउने धेरै खेलाडीहरूलाई भेटेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यसले खेलाडीहरूमा राष्ट्रप्रेमको भावना जागृत गराएको थियो।”
विद्यालयका प्रिन्सिपल तथा निर्देशक राकेश श्रेष्ठले विद्यालयको आगामी लक्ष्यबारे स्पष्ट पार्दै शिक्षा र मनोरञ्जनलाई सँगसँगै लैजाने (Edu-tainment) अवधारणा अघि सार्नुभयो। उहाँले फुजिसान सगरमाथालाई एउटा ‘स्पोटर्स हब’ (Sports Hub) को रूपमा विकास गर्ने सपना रहेको बताउनुभयो। “खेलकुद यस्तो माध्यम हो जसले जातपात, धर्म र क्षेत्रभन्दा माथि उठेर देशलाई जोड्ने काम गर्छ,” निर्देशक श्रेष्ठले भन्नुभयो, “यदि हामीले शिक्षा र खेलकुदलाई सँगै अगाडि बढाउन सक्यौँ भने विद्यार्थी र समग्र देशको विकास सम्भव छ।”

फुजिसान उदारतालाई खेल वृत्तमा प्रशंसा
कार्यक्रमको एक मुख्य आकर्षणका रूपमा राष्ट्रिय फुटबल खेलाडी अशिम राईलाई नगद ५ हजार एक सय रुपैयाँ र सम्मान पत्रसहित विद्यालयले सम्मान गरेको छ ।
अशिम अर्कै विद्यालयको उत्पादन भए तापनि खेल क्षेत्रमा उनले पुर्याएको योगदानको कदर गर्दै फुजिसानले देखाएको यो उदारतालाई खेल वृत्तमा निकै प्रशंसा गरिएको छ।
खेलकुदलाई विद्यालयको सीमाभन्दा बाहिर राखेर हेर्ने फुजिसानको यो कदमको सबैले स्वागत गरेका छन् ।



