धरान १० के रन: नरेन्द्र र सन्तोषीको शानदार जीत

0
Dharan Run promo

एनजी लामा/गोर्खा खबर धरान

धरान: धरानमा शनिबार सम्पन्न १४ औं नेवा च्यारिटी धरान १० के रनको खुला स्पर्धामा पुरुषतर्फ नरेन्द्र सिंह रावत र महिलातर्फ सन्तोषी श्रेष्ठले प्रथम स्थान हासिल गरेका छन्। निर्धारित १० किलोमिटरको दूरी रावतले ३१ मिनेट ५० सेकेन्डमा पूरा गरे भने महिलातर्फकी विजेता एवं चर्चित अन्तर्राष्ट्रिय धाविका सन्तोषी श्रेष्ठले ३७ मिनेट ३६ सेकेन्डमा दौड पूरा गरिन्।

प्रतियोगितामा पुरुषतर्फ कडा प्रतिस्पर्धा देखिएको थियो, जहाँ केन्याका धावक जुलियस मुरुकि वाहोमले ३१ मिनेट ५७ सेकेन्डमा दूरी पार गर्दै दोस्रो स्थान सुरक्षित गरे। त्यसैगरी, अमिर लिम्बुले ३२ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे। महिलातर्फ पुष्पा शेर्मा ४१ मिनेट ४४ सेकेन्डका साथ दोस्रो र प्रिया क्षेत्री ४२ मिनेट ३ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भइन्। दुवै विधाका प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ६० हजार, ४० हजार र ३० हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गरे।

उमेर समूह अन्तर्गत अण्डर १६ तर्फ पुरुषमा जिवन हाङ प्रथम, ओसन राई दोस्रो र हिमाल राई तेस्रो भए। सोही समूहको महिलातर्फ जुही राई प्रथम, जुलि राई दोस्रो र सिम्रन बर्देवा तेस्रो स्थानमा रहे। भेट्रान विधातर्फ पुरुषमा सुदिप प्रधान, विजय कुमार राई र रेशम लिम्बु क्रमशः पहिलो, दोस्रो र तेस्रो भए भने महिला भेट्रानतर्फ प्रतिमा राई प्रथम, जमुना लिम्बु दोस्रो र कल्पना तामाङ तेस्रो हुन सफल भए। यी विधाका विजेताहरूलाई नगद ७ हजार, ५ हजार र ३ हजारका साथै प्रमाणपत्र प्रदान गरियो।

विजेताहरूलाई धरानका कार्यवाहक प्रमुख आईन्द्र विक्रम बेघा, वडा १८ का अध्यक्ष प्रविण राई र चर्चित गायक राजु लामाले पुरस्कार प्रदान गरेका थिए। आयोजक ‘धरान रन’ का अनुसार यसपटकको दौडमा देश-विदेशका गरी ३५ सयभन्दा बढी धावकहरूको उत्साहजनक सहभागिता रहेको थियो, जसले यस प्रतियोगितालाई नेपालकै सर्वाधिक सहभागी हुने दौडमध्ये एकको रूपमा स्थापित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *