इटहरी । सुनसरीको इटहरीमा हुने तरहरा उत्सव २०२५को आधिकारिक गीत ९ब्लतजझ क्यलन० तयार पार्ने र त्यसलाई परिष्कृत गर्ने जिम्मेवारी संगीतकार तथा गायक ज्ञानु पूमा राईलाई दिइएको छ। उत्सवका आयोजक र राईबीच हिजो १७ भदौ २०८२, मंगलबार अनौपचारिक छलफलपछि यो सहमति भएको हो।
आयोजकका अनुसार, तरहरा उत्सवले कुनै पनि जात, धर्म, समुदाय, पार्टी वा पृष्ठभूमिको कुनै पनि भेदभाव नगरी सबैलाई स्वागत गर्ने र समेट्ने छ । यसका लागि उसले सार्वजनिक रुपमा फेशबुक र अन्य सामाजिक संजाल मार्फत गीत गाउन इच्छुकलाई आव्हान गर्नेछ । उत्सवले शहरकै सबैभन्दा ठूलो मञ्चमा सबैलाई सहभागी हुन आह्वान गर्दछ, आयोजकले बताएको छ।
नेपालका एक बहुमुखी प्रतिभाका धनी संगीतकर्मीको रूपमा परिचित ज्ञानु पूमा राईले उत्सवको थिम सङको नेतृत्व गर्नुहुनेछ। उहाँले उक्त गीतलाई परिष्कृत गरी गायक(गायिकाहरूको समूहलाई तालिम दिने र गायनको सम्पूर्ण प्रक्रियाको निगरानी गर्नुहुनेछ ।
आयोजकले यो गीतमा सहभागी हुन र उत्सवको सबैभन्दा ठूलो मञ्चमा गाउन इच्छुक सबैलाई खुला निमन्त्रणा दिएको छ। गीतमा सहभागी हुने सबै गायकहरूले स्वयंसेवकको रूपमा काम गर्नुपर्नेछ। आयोजकका अनुसार, यस कार्यमा अनुशासन र व्यावसायिकता सबैभन्दा महत्त्वपूर्ण हुनेछ।
आयोजक र ज्ञानु पूमा राईबीचको अनौपचारिक छलफलमा राईले अर्को एकल गीत पनि गाउने सम्भावनाबारे कुराकानी भएको छ ।
थिम सङको रचना गुरुङ सोल्टीले गरेकाले गायन समूहलाई रचनात्मक स्पर्श दिन, थप कलात्मक र विशेष बनाउन स्टेज प्रर्फमेन्समा उनले निर्देशन गर्नेछन् ।
उत्सवको यो पहलले स्थानीय कला र संगीतलाई प्रवर्द्धन गर्नका साथै समुदायमा एकता र सद्भाव बढाउन मद्दत पुग्ने विश्वास गरिएको छ।
