नेपाली आदिवासी जनजाति महासंघ हङकङद्वारा ‘वर्ष पुरुष’ र ‘वर्ष महिला’ सम्मान प्रदान

0

विश्व आदिवासी दिवस अगस्ट ९ मा पर्ने भए तापनि विविध कारणले गर्दा हङकङमा अगस्ट ३१ मा यो कार्यक्रम आयोजना गरिएको थियो।

Hong Kong News

हङकङ । विश्व आदिवासी जनजातिको ३१औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा नेपाली आदिवासी जनजाति महासंघ हङकङले हेजेन राईमाया गुरुङलाई ‘वर्ष पुरुष’ र ‘वर्ष महिला’ २०२५ को सम्मान प्रदान गरेको छ। आइतबार याउमा तेईस्थित हेनरीजी लेओङ कम्युनिटी सेन्टरमा आयोजित एक विशेष कार्यक्रममा उहाँहरूलाई यो सम्मान प्रदान गरिएको हो।

महासंघका अनुसार, आदिवासी समुदायको भाषा, लिपि, संस्कार, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै राई र गुरुङलाई सम्मानित गरिएको हो।

तस्वीर स्रोतः सम्मानित व्यक्तित्वको फेशबुक ।

लामो समयदेखि हङकङलाई आफ्नो कर्मथलो बनाउँदै आउनुभएका हेजेन राई हङकङेली नेपाली समाजमा एक बौद्धिक र शालीन व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। विभिन्न संघसंस्थाको नेतृत्व गरिसक्नुभएका राईले हाल विशेष सल्लाहकारको भूमिकामा अभिभावकत्व प्रदान गर्दै आउनुभएको छ। सफल व्यवसायीका साथै एक विशिष्ट समाजसेवीको छवि पनि उहाँले बनाउनुभएको छ।

तस्वीर स्रोतः सम्मानित व्यक्तित्वको फेशबुक ।

यसैगरी, ‘वर्ष महिला’ घोषित हुनुभएकी माया गुरुङ हाल बेलायत भ्रमणमा हुनुहुन्छ। तमुधि युकेको निमन्त्रणामा विशेष अतिथिका रूपमा बेलायत पुग्नुभएकी गुरुङले यो सम्मानले थप जिम्मेवारीबोध गराएको बताउनुभएको छ। हङकङकी एक स्थापित व्यवसायीका रूपमा परिचित उहाँ गुरुङ फिल्म एसोसिएसन (जिफान) हङकङको अध्यक्ष पनि हुनुहुन्छ।

विश्व आदिवासी दिवस अगस्ट ९ मा पर्ने भए तापनि विविध कारणले गर्दा हङकङमा अगस्ट ३१ मा यो कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल सरकारको आदिवासी जनजाति आयोगका सदस्य शरण राई र राजनीतिक विश्लेषक विश्वभक्त दुलाल ‘आहुती’को उपस्थिति रहेको थियो।

कार्यक्रममा विभिन्न जातजातिको सांस्कृतिक पहिरन र भेषभूषासहित जातीय नाच तथा साङ्गीतिक प्रस्तुतिहरू पनि समावेश गरिएका थिए।

सो कार्यक्रममा याउचि मङ जिल्ला पार्षद अरुणा गुरुङ, हङकङका लागि नेपाली महावाणिज्यदूत विन्देश्वरप्रसाद लेखक, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा जातीय संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

तस्वीर स्रोतः रिता गुरुङको फेशबुकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *