नव-नियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले दज्र्यानी चिन्ह ग्रहण गरे
काठमाडौं, २०८२ भदौ १९ – नेपाल सरकारले हालै नियुक्त गरेको प्रहरी महानिरीक्षक (I.G.P.) चन्द्र कुबेर खापुङले आज एक विशेष समारोहका बीच दज्र्यानी चिन्ह ग्रहण गर्नुभएको छ। गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृह सचिव ज्यूले नवनियुक्त महानिरीक्षक खापुङलाई दज्र्यानी चिन्ह प्रदान गर्नुभएको हो।
दज्र्यानी चिन्ह ग्रहण गर्दै महानिरीक्षक खापुङले नेपाल प्रहरीको गरिमा उच्च राख्न र नागरिकको सुरक्षा तथा शान्ति सुव्यवस्था कायम गर्न आफ्नो सम्पूर्ण शक्ति लगाएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले प्रहरी सेवालाई थप प्रभावकारी, प्रविधिमैत्री र जनउत्तरदायी बनाउने दिशामा आफू केन्द्रित रहने पनि बताउनुभयो।
कार्यक्रममा गृह मन्त्रालयका उच्च अधिकारीहरू र नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो। नवनियुक्त महानिरीक्षक खापुङले प्रहरी संगठनमा महत्वपूर्ण पदहरूमा रहेर लामो समय सेवा गर्नुभएको छ।

प्रहरी महानिरीक्षक दीपक थापा सहित वरिष्ठ प्रहरी अधिकारीहरूलाई बिदाइ
काठमाडौं, २०८२ भदौ १९ – ३० वर्ष लामो सेवा अवधि पूरा गरी अवकाशमा जान लाग्नुभएका प्रहरी महानिरीक्षक दीपक थापा सहित दुई अतिरिक्त महानिरीक्षकलाई आज एक विशेष समारोहका बीच बिदाइ गरिएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले अवकाश प्राप्त गर्ने महानिरीक्षक थापा, प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरी र टेकबहादुर तामाङलाई हार्दिक बिदाइ गर्नुभएको हो।
बिदाइ समारोहमा बोल्दै निवर्तमान महानिरीक्षक थापाले आफ्नो कार्यकालमा संविधान र कानुनको परिधिमा रहेर इमानदारीपूर्वक काम गरेको बताउनुभयो। उहाँले संगठनलाई थप सक्षम, आधुनिक र व्यावसायिक बनाउन आफूले सक्दो प्रयास गरेको उल्लेख गर्नुभयो। साथै, थापाले नवनियुक्त महानिरीक्षक खापुङ साहसी र क्षमतावान् रहेको भन्दै उहाँको कार्यकालमा संगठनले नयाँ उचाइ लिने विश्वास व्यक्त गर्नुभयो।
नवनियुक्त प्रहरी महानिरीक्षक खापुङले अवकाश प्राप्त गर्ने अधिकारीहरूले संगठनको श्रीवृद्धिका लागि पुर्याएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले विगतका असल अभ्यासहरूलाई निरन्तरता दिँदै अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
समारोहमा थापाले आफ्नो कार्यकालमा भएका कार्यहरूको प्रतिवेदन खापुङलाई हस्तान्तरण गर्नुभएको थियो। यस्तै, प्रहरी श्रीमती संघकी अध्यक्ष रूपा थापालाई पनि सोही अवसरमा बिदाइ गरिएको थियो।
