गुरुङ भाषा उच्च शिक्षामा प्रवेश गर्दै, PGEGLT सञ्चालनको तयारी अन्तिम चरणमा
काठमाडौं । गोर्खा खबर
गुरुङ (तमू) भाषा विद्यालय तह हुँदै अब उच्च शिक्षाको औपचारिक अध्ययनमा प्रवेश गर्ने तयारीमा पुगेको छ। गुरुङ भाषा अध्यापनसम्बन्धी Post Graduate in Education in Gurung Language Teaching (PGEGLT) कार्यक्रम सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको हो।
काठमाडौं विश्वविद्यालय र तमू हयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को सहकार्यमा अघि बढाइएको उक्त कार्यक्रम माघ २०८३ (फेब्रुअरी २०२७) देखि सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ। कार्यक्रमको पाठ्यक्रम (कोर्स) डिजाइनको अन्तिम ड्राफ्टसमेत तयार भइसकेको बताइएको छ।
गुरुङ भाषालाई केवल बोलचाल र सांस्कृतिक पहिचानको माध्यममा सीमित नराखी शिक्षा, साहित्य, अनुसन्धान तथा ज्ञान उत्पादनसँग जोड्ने उद्देश्यले PGEGLT कार्यक्रम अघि बढाइएको हो।
नेपालको संविधानले मातृभाषामा शिक्षा तथा भाषा, लिपि र संस्कृतिको संरक्षण एवं प्रवर्द्धनको अधिकार सुनिश्चित गरेको छ। सोही संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्न आवश्यक दक्ष शिक्षक तथा शैक्षिक जनशक्ति उत्पादनमा PGEGLT कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रमको पाठ्यक्रम निर्माणमा काठमाडौं विश्वविद्यालयका शिक्षा क्षेत्रका विज्ञ तथा तमू हयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का प्रतिनिधिहरू सहभागी छन्।
विश्वविद्यालयतर्फबाट डा. टीका पौडेल, डा. लिना गुरुङ, डा. सिद्धार्थ तथा फोकल पर्सन अजितमान तामाङ सहभागी छन्। त्यस्तै, परिषद्तर्फबाट अध्यक्ष धनमान गुरुङ, उपाध्यक्ष सिरि गुरुङ, महासचिव अधिवक्ता राजु गुरुङसहित भाषा, शिक्षा तथा विभिन्न क्षेत्रसँग सम्बन्धित प्रतिनिधिहरूको सहभागिता रहेको छ।
PGEGLT कार्यक्रम सञ्चालनमा आएपछि गुरुङ भाषामा दक्ष शिक्षक उत्पादनसँगै भाषा, साहित्य, संस्कृति र मौलिक ज्ञानमाथिको अध्ययन तथा अनुसन्धानले समेत गति लिने अपेक्षा गरिएको छ। यसले गुरुङ भाषालाई घर–समुदायमा बोलिने भाषाबाट विद्यालय, विश्वविद्यालय तथा प्राज्ञिक क्षेत्रसम्म विस्तार गर्न महत्वपूर्ण आधार तयार गर्ने विश्वास गरिएको छ।
गुरुङ भाषा, साहित्य र संस्कृतिको संस्थागत संरक्षण, विकास तथा पुस्तान्तरणका दृष्टिले यो पहललाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
“भाषा बाँच्छ भने साहित्य बाँच्छ, साहित्य बाँच्छ भने संस्कृति बाँच्छ; र संस्कृति बाँचे पहिचान पुस्तौँसम्म जीवित रहन्छ।”
