२०८२ असोज १४
माल्टा । नेपालीहरूको महान पर्व बडा दशैंका दिन माल्टामा नेपालको चर्चित ब्यान्ड ‘मंकी टेम्पल’ को लाइभ कन्सर्ट निःशुल्क हेर्न पाइने भएको छ । नेपाली समाज माल्टा (NSM) को आयोजनामा अक्टोबर २ तारीखका दिन माल्टाको जिरामा रहेको ओप्रियम थिर्यटर (Oprium Theatre) मा यो विशेष कन्सर्ट आयोजना हुँदैछ ।
रक गीतसंगीतको माध्यमबाट ख्याति कमाइसकेको मंकी टेम्पल ब्यान्डका कलाकारहरूको टोली लाइभ कन्सर्टका लागि मंगलबार माल्टा आइपुग्न लागेको नेपाली समाज माल्टाले जनाएको छ ।
नेपाली समाज माल्टाका अध्यक्ष ज्ञानबहादुर लामाले दशैंको दिन बिहान ११ बजेदेखि जेष्ठ नागरिकहरूको हातबाट टीका, जमरा लगाएर दशैं मनाउने र त्यसपछि अपरान्ह ४ बजेर ३० बजेदेखि लाइभ कन्सर्ट सुरु हुने जानकारी दिए । लामाले रोजगारीको सिलसिलामा माल्टामा रहेका सम्पूर्ण नेपाली समुदायलाई स-परिवार उपस्थित भई यो ऐतिहासिक उत्सव मनाउन विशेष आग्रहसमेत गर्नुभएको छ ।
‘बडा दशैंको रंग; नेपाली समाज माल्टा संग’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यो लाइभ कन्सर्ट यस क्षेत्रको नेपाली समुदायका लागि निकै महत्त्वपूर्ण रहेको आयोजकको भनाइ छ ।
कन्सर्ट निःशुल्क राखिनुको कारणबारे बताउँदै नेपाली समाज माल्टाका सचिव किरण बुढाथोकीले भन्नुभयो, “अहिलेसम्म माल्टामा नेपालका कलाकारको उपस्थितिमा सम्पन्न भएका कुनैपनि कार्यक्रम निःशुल्क रूपमा सञ्चालन भएका छैनन् । दशैंको अवसरमा रोजगारीको सिलसिलामा माल्टामा रहेका नेपालीले भरपुर सांगीतिक मनोरञ्जन लिन पाऊन् भन्ने उद्देश्यले नेपाली समाज माल्टाले निःशुल्क लाइभ कन्सर्टको आयोजना गरेको हो ।”
समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक दिनेश संजेलले कार्यक्रमको सम्पूर्ण तयारी लगभग पूरा भइसकेको जानकारी दिनुभयो ।
महिला उपाध्यक्ष एवम् कार्यक्रम सह-संयोजिका किरण तामाङले यस कार्यक्रमलाई संस्कृति र मनोरञ्जनको अनुपम संगमका रूपमा व्याख्या गर्नुभयो । उहाँले भन्नुभयो, “यो केवल मनोरञ्जन मात्र होइन, अग्रजहरूको आशीर्वाद र अनुजहरूको स्नेह साटासाट गर्ने एउटा ऐतिहासिक अवसर हो । यसरी हामी दशैंको यो पर्वलाई संस्कृति र कलाको संयोजनबाट अविस्मरणीय बनाउनेछौँ ।”
कन्सर्टको तयारीबारे मिडिया संयोजक निकेश श्रेष्ठले भन्नुभयो, “हामीले सम्पूर्ण तयारी पूरा गरिसकेका छौँ । यो कार्यक्रम दशैंको अवसरमा समुदायमा एकता, खुसी र उत्साह आदानप्रदान गर्ने हाम्रो प्रयास हो । हामी सम्पूर्ण माल्टावासी नेपालीलाई ओप्रियम थिर्यटरमा स्वागत गर्न आतुर छौँ ।”
मंकी टेम्पल ब्यान्डका प्रमुख सुरेन देउजाको नेतृत्वमा हुन लागेको यस लाइभ कन्सर्टमा कलाकारहरूले ‘समय बितेको’, ‘हाम्रो नेपाल’, ‘संगै बाँचौला’, ‘गहिरो’, ‘अनुमती’, ‘समय अजम्बरी’ लगायत चर्चित गीतहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यस अवसरमा सम्पूर्ण नेपाली समुदायलाई उपस्थित भई सांस्कृतिक उत्सवमा सहभागी हुन आयोजकले अनुरोध गर्दछ ।


