जारी २ को प्रतिक्षामा सिनेप्रेमी; हङकङमा उत्साह, व्याग्र प्रतिक्षा: पाथिभरा ग्रुप प्रर्दशन गर्दै
युएन लङ (हङकङ) । गोर्खा खबर
१७ साउन २०८२, शनिबार
नेपाली फिल्म क्षेत्रको एक उल्लेखनीय उपलब्धि मानिएको चलचित्र जारीको बहुप्रतिक्षित सिक्वेल जारी २ को पोस्टर सार्वजनिक भएसँगै दर्शक समुदायमा नयाँ उत्साह र बहसले ठाउँ बनाएको छ। समसामयिक नेपाली समाज, भाषा, र संस्कृति समेट्दै गहिरो कथावाचन प्रस्तुत गर्ने निर्देशक, कवि तथा अभिनेता उपेन्द्र सुब्बा निर्देशित पहिलो श्रृंखलाले नेपाली फिल्म क्षेत्रमै इतिहास कोरेको थियो। जारी २ को आधिकारिक घोषणा र पोस्टर विमोचनले सिनेप्रेमीहरूको कौतुहलतालाई शिखरमा पुर्याएको छ।
चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा नेपाली चलचित्र जारी २ को उत्साहपूर्ण विशेष प्रदर्शन गर्ने तयारी तीव्र बनिरहेको छ । सो प्रदर्शनीको अधिकार पाएका पाथिभरा ग्रुप, युएन लङ हङकङले यसअघि पनि थुप्रै नेपाली सुपरहिट चलचित्रहरू प्रदर्शन गर्दै प्रवासी नेपाली समुदायमा नेपाली सिनेमा र संस्कृतिको पहुँच विस्तार गरिरहेको छ ।

ग्रुपका अध्यक्ष युवक सान्योङ्पा लिम्बूले वाट्सएपमार्फत गोर्खा खबरसँग प्रतिक्रिया दिँदै भन्नुभयो, “जारी २ को हङकङमा हुने प्रदर्शन भव्य र ऐतिहासिक हुनेछ। हामीले प्रवासी दर्शकको चाहना बुझेर यसलाई विशेष बनाउँदैछौं।”

“हामी प्रवासी नेपालीलाई आफ्नै कला, भाषा र संवेदनासँग जोड्ने माध्यमको रूपमा नेपाली चलचित्र प्रदर्शन गर्दै आईरहेका छौं ।”, ग्रुपका सचिव जीवन गुरुङले गोर्खा खबरसँगको मोबाइल कुराकानीमा थप्नुभयो, “जारी २ को प्रदर्शन अविस्मरणीय बनाउने हाम्रो तयारी अन्तिम चरणमा छ।”
ग्रुपले सिर्जनात्मकता र सामाजिक सेवा सँगसँगै लगिरहको छ । ग्रुप केवल चलचित्र प्रदर्शनमै सीमित छैन, यसले नेपाली समुदायलाई केन्द्रमा राखी सामाजिक, मानवीय र खेलकुद क्षेत्रमा बहुपक्षीय योगदान गरिरहेको छ ।
नेपाली महिला फुटबल टिमकी पूर्वकप्तान एन्जिला तुम्बाहाम्फेको घर निर्माणको लागि हङकङ्गमा प्रर्दशन गरिएको चलचित्र अञ्लिाको सम्पूर्ण आम्दानी सोझै उहाँलाई हस्तान्तरण गरिएको थियो । यस्तै, महिला राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राईलाई नगदसहित सम्मान गरिएको थियो ।
आफ्नो मातृभूमि नेपालमा पनि ग्रुपले सक्रिय रूपमा योगदान गरिरहेको छ ।

सुनसरी, इटहरी उपमहानगरपालिका–२०, तरहराको सर्वाधिक लोकप्रिय एवम् ठूलो तरहरा उत्सव २०८१ को ग्रुप मुख्य प्रायोजक हो । यो योगदान पुर्याएको ग्रुपले वर्ष २०८२ का लागि पनि सहयो गर्ने भएको छ ।
हाल ग्रुपले तरहरामा नै वाटर एटिएम, निःशुल्क चिसो पिउने पानी, सेवा सञ्चालन गर्दै आएको छ । यो सामाजिक उत्तरदायित्वको अनुकरणीय उदाहरण भएको छ ।

ग्रुपका संयोजक तथा गायक, गीत रचनाकार एवम् संगीतकार अरुण राई वैंशालु उमेरदेखिको आफ्नो कलाको निरन्तरता र युवाको जोश देखाउनु हुदै आफ्नो बहुआयामिक चरित्रलाई अझ व्यापक बनाई गोर्खा खबरसँग भन्नुहुन्छ, “हामी नेपाली सिने र संगीत क्षेत्रमा बैंशालु उमेरदेखि भिजेका हौं । यही समर्पणले हामीलाई कर्मभूमिमा पनि नेपाली चलचित्रको सम्मानका साथ प्रदर्शन गर्न प्रेरित गरेको हो । हाम्रो उद्देश्य केवल प्रदर्शन होइन, नेपाली कला(संस्कृति र दर्शकहरूलाई विश्वसामु चिनाउने हो ।”
“मेरी मायालु तिमी नजाऊ छाडी” बोलको चर्चित गीत समावेश म्युजिकल एल्बम हेक्शागन ब्रर्दशका ब्याण्ड प्रमुख, गायक एवम् निर्माता तथा प्रस्तोता समेत रहनुभएका राई “कस्तो माया दिने तिमी ?” बोलका गाएर यसअघि नै चर्चामा रहनुभएका थिए । गीत संगीतमा ‘पर्रफेक्शन’ (perfection) खोज्नुहुने राई नेपाली स्तरीय चलचित्रको प्रर्दशन गर्नु आफ्नो दायित्व एवम् जिम्मेवारी रहेको बताउनुहुन्छ ।

ग्रुपका सल्लाहकार कालसिंह राईले आफ्नो जन्मभूमि, तरहरामा चिसो पानी निःशुल्क वितरण गरेको प्रति गु्रपसँग नतमस्तक हुनुहुन्छ ।
“सामाजिक योगदानको आत्मा बुझेको छु ।”, राईको कथन छ, “टन्टलापुर गर्मीमा सर्वसाधारणलाई निःशुल्क चिसो पानी पिउन दिनु केवल धर्म होइन, यो हाम्रो मानवीय कर्तव्य हो । ग्रुपले यस्तो सेवा गर्दै आएकोमा हामी गर्व गर्छौं।”
राई तरहरा हङकङ मञ्चका अध्यक्ष तथा किराँत राई यायोक्खा हङकङका सल्लाहकार समेत हुनुहुन्छ ।
हिजो राती गोर्खा खबरसँग कुरा गर्नुहुदै उहाँले भन्नुभयो “फिल्म प्रदर्शनीसँगै पाथिभरा ग्रुपले सामाजिक उत्तरदायित्वमा पनि प्रशंसनीय काम गरिरहेको छ। उहाँहरूको योगदान वास्तवमै आदर्श हो, सामाजिक क्षेत्रमा समाजका लागि उदाहरण हो । यसका लागि उहाँहरु धन्यवादका पात्र हुनुहुन्छ, हामी उहाँहरुलाई सम्मान गछौं ।”

ग्रुपका अध्यक्ष युवक सान्योङ्पा लिम्बूले जारी २ केवल एक चलचित्र मात्र नभई नेपाली सिनेमाको भावनात्मक पुनर्जागरण भएको र यसले हङकङ, मकाऊ र विश्वभर रहनुभएका प्रवासी नेपालीहरूलाई आफ्नै पहिचान र संस्कृतिसँग जोड्ने प्रयत्न गर्ने दाबी गर्नुभयो ।
लिम्बूको दाबी छ, “जारी २ चलचित्रको यो अन्तर्राष्ट्रिय प्रदर्शन, प्रवास र मातृभूमिबीचको सांस्कृतिक सेतु बनिनेछ ।”
संयोजक अरुण राई आज बिहान गोर्खा खबरसँग वाट्सएपमा कुराकानी गर्दै साहित्यक शब्दमा भन्नुहुन्छ, “जारी २ पर्दामा मात्र होइन, हङकङ, मकाऊका नेपाली समाजको हृदयमा गुञ्जिने छ।”
