विश्व आदिवासी दिवस २०८२ इटहरीमा भव्य रूपमा मनाइने
इटहरी । गोर्खा खबर
२०८२ साउन २२, बिहिबार
नेपाल आदिवासी जनजाति महासंघ, इटहरी उपमहानगर समन्वय परिषद्को आयोजनामा आगामी साउन २४ गते (शनिबार, अगस्त ९, २०२५) को दिन ३१औँ विश्व आदिवासी दिवस इटहरीमा बृहत् झाँकी ¥याली र साँस्कृतिक उत्सवसहित भव्य रूपमा मनाइने भएको छ।
समाजको मौलिक अधिकार, पहिचान, भाषा, संस्कृति र अस्तित्वको संरक्षण र प्रवर्द्धन गर्न समर्पित यो दिवस केवल उत्सव मात्र नभई, आदिवासी समुदायका अधिकारप्रति दाबी प्रस्तुत गर्ने महत्वपूर्ण दिन पनि हो। यस वर्षको मूल नारासमेत सर्वोच्च अदालतद्वारा दिइएको निर्देशनात्मक आदेश तत्काल कार्यान्वयन गर, प्राकृतिक स्रोत–जल, जमिन र जंगलमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गर भन्ने रहेको छ।
कार्यक्रमबारे जानकारी दिँदै परिषद्का अध्यक्ष चिरहाङ राईले भने, “नेपालले हस्ताक्षर गरेका अन्तर्राष्ट्रिय दस्तावेजहरूमार्फत आदिवासी जनजातिको आत्मनिर्णयको अधिकार सुनिश्चित गर्न राज्य बाध्य भए पनि आजसम्म ती अधिकारहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेकोप्रति हामी चिन्तित छौँ।”
साथै, सर्वोच्च अदालतबाट हालै भएको निर्देशनात्मक आदेश तुरुन्त कार्यान्वयन गर्न समेत आग्रह गरिएको बताउनुभयो।
कार्यक्रमको प्रमुख अतिथि इटहरी उपमहानगरपालिका नगर प्रमुख हेमकर्ण पौडेल रहनुहुनेछ भने विशेष अतिथिमा उपप्रमुख संगीता चौंधरी तथा स्थानीय राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, समाजसेवी, र विभिन्न समुदायका अभियन्ताहरूको उपस्थिति रहनेछ।
यस दिन इटहरीको सङ्गीत चोकमा बिहान १० बजे भेला भई बृहत झाँकी र ¥यालीसहित नगर परिक्रमा गरी कार्यक्रम टेम्पु स्टेन्ड (इटहरी चोकबाट पश्चिम) मा सम्पन्न गरिनेछ। कार्यक्रममा राष्ट्रिय गायक अनिल कोयू राई लगायत स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति समेत रहने महासंघ उपाध्यक्ष एवम् प्रचारप्रसार संयोजक एवम् शनिबारको कार्यक्रम सञ्चालक रोशन भुजेलले जानकारी दिनुभयो।
यस वर्षको कार्यक्रममा प्रशिक्षक, अधिकारकर्मी तथा पत्रकार गोपाल देवान, नेपाल टेलिभिजन इटहरी एचडीका सञ्चारकर्मी मेनुका डुम्जन, साथै तिन विद्यार्थीहरुलाई समेत सम्मान गरिने भुजेलले जानकारी दिनुभयो।
कार्यक्रम संयोजक चन्द्र बहादुर गोमदेनले सम्पूर्ण पत्रकार, सञ्चारकर्मी तथा नागरिक समाजलाई आत्मीय सहभागिता जनाई यस ऐतिहासिक दिवसलाई सफल बनाउन अपिल गर्दै समाचार सम्प्रेषण गर्न समेत आग्रह गर्नुभएको छ।
