जेनजी आन्दोलन : इटहरीको अनुभव र मेरो दृष्टिकोण

0

मैले खोजेको मेरो देश र मेरो जेनजी शान्तिलाई प्रेम गर्ने हुुनुपर्छ । मलाई विश्वास छ कि परिवर्तन हिंसाबाट होइन, शान्तिपूर्ण र रचनात्मक बाटोबाट सम्भव छ।

itahari genz gurkha khabar-min

नबिन गुरुङ (गुरुङ सोल्टी)
इटहरी २०, तरहरा

इटहरी नगरपालिका अगाडिको आजको प्रदर्शन सुरुवाती चरणमा निकै शान्तिपूर्ण थियो। आन्दोलनको माहोल तातिसकेको भए पनि हामी सबै संयमित भएर इटहरीको मुख्य चोकको शालिकबाट हाम्रा मागहरू र अकर्मण्य सरकारविरुद्ध चर्को नारा लगाइरहेका थियौँ। केही समय हामीले ‘गाउँ(गाउँबाट उठ, रातो चन्द्र सूर्य’ जस्ता देशभक्तिपूर्ण गीतहरू पनि गायौँ। व्यवस्थापनमा देखिएको कमजोरी, माइकको अभाव र पिउने पानी, शौचालय जस्ता आधारभूत आवश्यकताको अनुपस्थितिले केही असुविधा महसुस भयो। मैले काठमाडौँमा घुम्ती शौचालय राखिएको खबर पढेको थिएँ र हाम्रो प्रदर्शनमा पनि यस्तो व्यवस्था भएको भए राम्रो हुने थियो भन्ने लाग्यो।

यो आन्दोलनमा जेनजीका धेरै विद्यार्थीहरू सहभागी थिए। उनीहरूको उत्साह र ऊर्जा देखेर मलाई निकै गर्व लाग्यो। तर, मैले केही राजनीतिक दलका युवा नेता र कार्यकर्ताहरूको घुसपैठ भएको पनि महसुस गरें। उनीहरू आफ्नो स्वार्थका लागि आन्दोलनलाई दुरुपयोग गर्न खोजिरहेका थिए। सुरुमा हाम्रो प्रदर्शन शान्तिपूर्ण थियो र हामीले इटहरी शालिक क्षेत्रलगायत सबै ठाउँमा परिक्रमा गर्‍यौँ।

यद्यपि, आन्दोलनमा केही उच्छृंखल प्रवृत्ति पनि देखियो। केही व्यक्तिहरू हल्ला गर्नमै व्यस्त थिए, उनीहरूमा आन्दोलनको गम्भीरताबारे चेतनाको अभाव देखिन्थ्यो, मेरो निजी मशहुषमा । जेनजीलाई मूर्ख मान्न मिल्दैन, तर आजको आन्दोलनमा केहीँको परिपक्वताको अभाव देखिएको हो कि जस्तो लाग्यो । त्यस प्रवृत्तिले दुःख लाग्यो तर, यसमा मैले नबुझेको वा मेरो कमजोरी भएको हो कि उनीहरुलाई बुझ्न, यो चै अझसम्म पनि बुझ्नै सकेको छैन् । तर, यति चै हो कि, हामी केही सिनियरहरूले आन्दोलनलाई व्यवस्थित र शान्तिपूर्ण बनाउने प्रयास गर्‍यौँ, तर धेरै संयमित नै रहे पनि केही जेनजी कुरा सुन्ने प्रवृत्ति देखाउन सक्दैनन् रहेछन् । बुढा नेताहरुलाई जस्तै उनीहरुलाई पनि लाग्दो हो, जान्नेबुझ्ने नै हामी हौं ।

मुख्य चोकमा नै भईरहेको आन्दोलन उपमहानगरपालिका अगाडि गएपछि दुर्भाग्यवश, स्थिति बिग्रियो। सबैभन्दा विडम्वनाको विषय, नेतृत्व थिएन, व्यवस्थापन राम्रो भएन् । अतः उपमहानगरपालिकाको घटनाले शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक मोडमा धकेल्यो। हामीले शुरुदेखि नै सार्वजनिक सम्पत्ति तोडफोड हुनबाट रोक्ने प्रयास गर्‍यौँ र गरिरहेकै थियौं । तर, भन्दाभन्दै पनि केही व्यक्तिहरूले रेलिङ भाँचे, ट्राफिक ब्यारियरमा आगो लगाए, र शालिक तोड्ने प्रयास गरे। यद्यपि, धेरै युवाहरू सार्वजनिक सम्पत्ति तोडफोड गर्नु हुँदैन भन्ने कुरामा सहमत थिए, र यसले केही राहत दियो। मलाई यो देखेर औंद्यी खुसी लाग्यो कि अधिकांश युवाहरू, जेनजीका मात्र होईनन्, सर्पोटमा आउनेदेखि रमिता हेर्न आउनेसम्म, परिवर्तन र सुशासनका लागि इमान्दारीपूर्वक जुटेका थिए, न कि विध्वंसका लागि।

जब आन्दोलन हिंसात्मक बन्यो, दुईजनाको टाउको फुट्यो, दुईजनाको हातमा चोट लाग्यो । मैले उनीहरूलाई इटहरी मेडिकलमा उपचारको लागि पुर्‍याएँ। यो सबै हुँदाहुँदै पनि आन्दोलन अझै उग्र बनिसकेको थिएन, तर जब उपमहानगरपालिका कार्यालयमा तोडफोड, आगजनी र चोरीका खबरहरू आए, म धेरै दुःखी भएँ। अश्रुग्यासले मेरो आँखा पोलेको थियो र प्रहरीको गोली लाग्ने डर पनि थियो, तर हिंसामा सहभागी हुने विचार मलाई कहिल्यै आएन।

आन्दोलनको स्वरूप बदलेर हिंसात्मक बनेपछि मैले फेसबुकबाट आफू यस्तो गतिविधिमा सहभागी नहुने घोषणा गरें। मेरो प्रदर्शन शान्तिपूर्ण र रचनात्मक तरिकाले जारी रहनेछ। प्रहरीले गरेको गोली प्रहारबाट प्रदर्शनकारीहरूको ज्यान गएको खबर सुन्दा मलाई धेरै दुःख लाग्यो र म यसको कडा निन्दा गर्दछु। यस घटनामा संलग्न प्रहरी अधिकारीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइनुपर्छ। साथै, प्रधानमन्त्री केपी ओलीलाई मानव अधिकारको उल्लंघन गरेको आरोपमा जवाफदेही बनाउनुपर्छ र उनले राजीनामा दिनुपर्छ।

म सधैँ जेनजीको शान्तिपूर्ण आन्दोलनको साथमा छु, तर हिंसा, तोडफोड, आगजनी र सार्वजनिक सम्पत्तिको क्षतिसँग कहिल्यै जोडिँदिन। मैले खोजेको न मेरो देश यस्तो हो, न मेरा जेनजी। दुवै पक्ष संयमित हुनुपर्छ र अधिकारको लडाईमा हाम्रा जेनजीले पनि फरक ढंग र फरक रचनात्मक तरिकाबाट प्रस्तुत भई भष्ट्रचार, व्यथिति, सुशासन र सम्बृद्ध देशका लागि अघि बढ्नुपर्छ । मैले खोजेको मेरो देश र मेरो जेनजी शान्तिलाई प्रेम गर्ने हुुनुपर्छ । मलाई विश्वास छ कि परिवर्तन हिंसाबाट होइन, शान्तिपूर्ण र रचनात्मक बाटोबाट सम्भव छ।

म विवेकि हुँ, मूर्ख होइन। फेसबुक वा सामाजिक सञ्जालमा भुक्ने कुकुरझैँ अशोभनीय भाषा प्रयोग गर्नेहरूको स्तरमा म कहिल्यै झर्दिनँ, न यिनीहरुको जस्तो अनावश्यक उत्तेजित बन्न सक्छु म । आज मात्र होईन, दुई दशकभन्दा बढी समयदेखि म सुशासन, व्यवस्थित प्रणाली, भ्रष्टाचारविरुद्धको लडाइँ, कानूनको शासन, समानता, न्याय र देशको विकासका लागि निरन्तर संघर्ष गर्दै आएको छु ।

सस्तो भाषामा गाली गर्नेहरू आफ्नै चरित्रअनुसार फेशबुकमा प्रस्तुत हुने हुन् । तिनका उत्तर दिन आवश्यक ठान्दिनँ । न तिनले मेरो दृष्टिकोण र सोच एवम् सोचाईको स्तर बुझ्छन् न बुझाईरहनु आवश्यक छ । जेनजीको आन्दोलनमा म सक्रिय रूपमा सहभागी भएको छु, नाराबाजी गरेको छु र आफ्नो जिम्मेवारी बहन गरेको छु। तर म फेरि पनि दोहोर्याएर भन्न चाहन्छु— म कुनै पनि प्रकारको हिंसा, तोडफोड वा सार्वजनिक सम्पत्तिको क्षति गर्ने आन्दोलनमा भने हिस्सा हुन्न । म त्यसको दृढ रूपमा विरोध गर्दछु।

घुसपैंठ भई भएको यस्तो हिंसाको समर्थन किमार्थ गर्न सक्किन । र, आन्दोलनमा हिंसा हुन्छ वा जरुरी छ भन्ने मान्यता पनि म राख्दिँन । म सधैँ सिर्जनशील र प्रगतिशील सोच तथा कर्म गर्ने युवाको पक्षमा र युवासँग उभिएको हुन्छु।

मलाई लोकप्रियता वा सामाजिक सञ्जालको प्रसिद्धिको लोभ छैन। यसैले म फेरि पनि दोहोर्याएर भन्न चाहन्छु— म कुनै पनि प्रकारको हिंसा, तोडफोड वा सार्वजनिक सम्पत्तिको क्षति गर्ने आन्दोलनमा भने हिस्सा हुन्न । म त्यसको दृढ रूपमा विरोध गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *