सामाजिक अभियन्ता एवम् पत्रकार नवीन गुरूङको खुल्ला पत्र
“तपाईं जनजातिको महिला तपाईंलाई उप–मेयर बनाउछु भन्दै बिन्दाबनमा कृष्णलिला ।”, तपाईले उल्लेख गर्नुभएको यो भाषाको अर्थ के हो ? सामान्य शाब्दिक बुझाईमा, कुनै अमुक व्यक्ति जनजाति महिलालाई उपमेयर बनाउछु भन्दै लोभ्याउछ, सेक्स गर्छ ? वा, तपाईको निच पूर्वाग्रही सोचमा, कुनै व्यक्तिले उपमेयर बनाईदिन्छु भन्दा “जनजाति” महिलाहरुले आफ्नो चरित्र र नैतिकता भूलेर सजिलै सेक्सका लागि तयार हुन्छन र गर्छन भन्न खोज्नुभएको हो ?
आर्काइभबाट
प्रिय सन्तोष रेग्मी,
(अध्यक्ष), तरहरा जेसिज ।
नेपाल जेसीज जस्तो एक प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाको तरहरा शाखाको गरिमामय अध्यक्ष पदमा आसिन एक अत्यन्तै जिम्मेवार व्यक्ति, व्यवसायीक हिसाबले पनि एक सफल व्यवसायी र बौद्धिक रुपमा विवेकी व्यक्तित्व भनि चिरपरिचित तपाई जस्तो विद्धवान एवम् सामाजिक व्यक्तित्वले सामाजिक संजालमा सार्वजनीक रुपले प्रयोग गर्नुभएको भाषाले (तस्वीरमा हेर्नुहोस् स्क्रीनसट) जनजाति महिला दिदीबहिनीहरुको गम्भीर रुपमा मानमर्दन हुन पुगेको छ । यसप्रति कडा आपत्तीसहित क्षोभ प्रकट गर्दछु ।
“तपाईं जनजातिको महिला तपाईंलाई उप–मेयर बनाउछु भन्दै बिन्दाबनमा कृष्णलिला ।”, तपाईले उल्लेख गर्नुभएको यो भाषाको अर्थ के हो ? सामान्य शाब्दिक बुझाईमा, कुनै अमुक व्यक्ति जनजाति महिलालाई उपमेयर बनाउछु भन्दै लोभ्याउछ, सेक्स गर्छ ? वा, तपाईको निच पूर्वाग्रही सोचमा, कुनै व्यक्तिले उपमेयर बनाईदिन्छु भन्दा “जनजाति” महिलाहरुले आफ्नो चरित्र र नैतिकता भूलेर सजिलै सेक्सका लागि तयार हुन्छन र गर्छन भन्न खोज्नुभएको हो ? तरहरा जेसिज जस्तो प्रतिष्ठित सामाजिक संस्थाको अध्यक्ष जस्तो गरिमामय पदमा आसिन सन्तोष सामाजिक मूल्य मान्यता समेतको ख्याल नगरि पूर्वाग्रही ढंगले “जनजाति” महिलाहरुको चरित्र हत्या र मानमर्दन गर्न यति तल्लोस्तरसम्म उद्धत हुनु दुखद् र लाजमर्दो विषय हो । यसले “जनजाति” महिलाको मात्र होईन, समग्र महिला दिदीबहिनीहरुको नै मानमर्दन गरेको छ । र, यो द्धेष, घृणा र अपहेलना फैलाउने किसिमको देखिन्छ ।
यसकारण, यो फौजदारी कानूनको दृष्टिले समेत गम्भीर विषय देखिएकोले यस विषयमा कानुन र सम्बन्धित निकायले तपाईमाथि सख्त कारवाही गरेर महिला दिदीबहिनीहरुलाई न्यायोचित न्याय दिनुपर्छ । त्योसँगै लाजशरम लाग्छ भने तपाईले “जनजाति” महिलासँग मात्र होईन, समग्र महिला दिदीबहिनीहरुसँग दुई हात जोडेर सावर्जनिक रुपमा मैले गल्ती गरे भनेर माफि माग्नुपर्छ र भूलेर पनि भविष्यमा यस्ता हर्कत दोहोराउनु हुदैन ।
नवीन गुरूङ (सामाजिक अभियन्ता)
शुभेच्छुक आलोचक
