चिहानको अनुरोध (खगेन्द्र खड्का)

0
Khagendra Khadka Ktm kabita

साहित्य-स्रष्टा

वर्षौंको उथलपुथल अनि कोलाहललाई
छिचोलि सकेपछि,
कोही सुतेको छ यहाँ आनन्दसँग
सिमलको भुवा उडेझैँ चुपचाप
त्यसैले सुस्तरी हिँड छेउबाट

त्यहीँ पुग्नका लागि
बिस्तारै पाइला बढाइरहेका
ए यात्रारत मान्छेहरू हो !
भयो, छोडिदेऊ अब
अझै तर्साउन उसलाई

आमाको न्यानो काख
प्रेयसीको मीठो उच्छवास
सिरसिर बतास
झमझम झरीको गीत
हिउँदे घामसँगको प्रीत
माटोको हरक
र रातको निस्तब्धता
सबैसबैलाई छोडेर
केवल आफैँलाई प्रेमिल अँगालो हाल्दै
गहिरो शान्तिसँग
आनन्दविभोर भएको छ ऊ
उसलाई नबिथोल

ऊ भोगिरहेको छ
रसपूर्ण अनन्ततालाई
भङ्ग नगरिदेऊ कसैले
उसको यस स्वर्णिम भोगाइलाई

चुपचाप अनि आत्मिक अनभूति गर्न देऊ न
ए मान्छेहरू हो !
कोही समाधिस्थ भएर आराम फर्माउदैछ यहाँ ।


(खड्का विगत एक दशकदेखि साहित्यकर्ममा सक्रिय स्रष्टा हुन् )
khagendrakhadka60@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *