खगेन्द्र खड्का
सानो छँदा SLC नदिउन्जेल भनौं न, भगवान सङ्ग के बरदान माग्छस् ल माग् भनेर कसैले भन्यो भने दोस्रो बात केही नसोची ‘अघाउँजी सिनेमा हेर्न पाउँ भगवान!’ भनेर मागिन्थ्यो होला। बजारले ङ्याकी नसकेको त्यो शान्त समयमा हामी गाउँका भुराहरुलाइ गुल्कोज बिस्कुट खान पाउनु आनन्द थियो भने फिलिम हेर्न पाउनु परमानन्द। त्यतिबेला हेरेको सिनेमाको स्वाद अहिलेसम्म पनि मनमा गढेको छ। तरहराबाट इटहरी, धरान, दुहबी, बिराटनगर, इनरुवा पुगेर सिनेमा हेरेर घर फर्किदै गर्दा पनि सिनेमाको रस पुरै निख्रीसकेको हुदैनथ्यो – त्यसैले बाटामा पनि सिनेमाकै सिन सम्झिदै एक्लै मुसुमुसु हास्दै हिडिँन्थ्यो।
भोलिपल्ट बिहान हतार गर्दै स्कुल कुदिन्थ्यो – साथीहरूलाई वरिपरि राखेर फिल्मको कहानी सुनाउदै धाक जमाउन। एक बसाइमै पुरै फिल्मको कहानी सुनाउन नभ्याइने हुनाले फिल्ममा जस्तै ‘मध्यान्तर’ पनि गर्ने चलन थियो – बाँकि टिफिन टाइममा सुनाउने गरि। ‘अन्धा कानुन’ मा अमिता बचनले अदालत भित्रै गुण्डालाइ मारिदिन्छ वा ‘आँधी तुफान’ को सुटिङ्ग नेपालमा पनि भएको रहेछ अथवा रजनिकान्तले ‘गङ्गवा’ मा धित मर्नेगरी फाइट खेलेको छ भनेर सुनाउदा फिल्म हेर्न नपाएका साथीहरू निराश हुँदै आ-आफ्नो जीवन व्यर्थमा नास भइरहेकोमा अफसोच मानिरहेका हुन्थे। 1988 को ‘कयामत से कयामत तक’ मा आमिर र जुहिले घरबाट भागेर ‘अकेले है, तो क्या गम है’ भन्ने गित गाउँदा बिचराहरुको कत्रो ठूलो त्याग र हिम्मत! यस्तो दुख पाउँदा पनि हाँसिखुसी गित गाउँदै मजदुरी गरिरहेका छन् – हे भगवान् ! मैले पनि एउटि यस्तै केटि भेटे कस्तो जाती हुन्थ्यो भन्ने मनमा लागिरहेको हुन्थ्यो।
‘महेन्द्रमाला’ किताबको पछाडि पट्टि ‘हटि होइन, डटि लड्ने’ पढ्दै हुर्किएका हामी भुराहरुलाइ राष्ट्रवादी पनी उत्तिकै पल्टिनुपर्ने। त्यसैले भएभरको बुद्धि लगाएर मृगतृष्णा जस्तो निष्कर्ष निकाल्दै भन्थ्यौ – ‘हिन्दी फिलिममा पनि कत्ती नेपालीहरु छन् नि – डेनि डेनजोग्पा, ओम पुरी, अमरिस पुरी, प्रकाश थापा, टीका पहाडी, राजु श्रेस्ठ, मुरलिधर, जिना तामाङ (जिनत अमान रहेछ भनेर पछि थाहा पाइयो), कत्ती हो कत्ती!
जब फिल्मको प्रचार गर्ने रिक्साले ‘कृष्ण टाँकिजको सुनौलो पर्दामा चलिरहेछ ‘वारदात’……… ‘ भन्दै माइक फुक्थ्यो, त्यो सुनेर त औडाहा नै हुन्थ्यो।
झन् आक्कल झुक्कल मात्रै बन्ने नेपाली सिनेमा हेर्न आबाल-वृद्ध-वनिता हरुको ओइरो नै लाग्ने गर्थ्यो, र नै सिनेमा हल हुने शहरमा ‘ब्लाकि’ भन्ने अनौठो पेशा पनि अस्तित्वमा हुने गर्थ्यो।
टिभी आइनपुगेको त्यो समयमा पर्दामा पात्रले नेपाली बोलिदिए मात्रै पनि दर्शकहरु मन्त्रमुग्ध हुन्थे। फिल्मका पात्रका सुखदुःखको कुरा गर्दा पनि बडो भावुक हुइन्थ्यो।
फिल्मको क्रेज यस्तो कि मेरो धराने साथिका दिदीहरु राजेश खन्नालाइ भेट्न भनेर जोगबनी सम्म पुगिसकेका थिए रे, ट्रेन स्टेशनबाट फर्काएर ल्याएका भन्ने सुनिन्थ्यो। पछि हामि उरन्ठ्यौलाले पनि दिब्या भारती भन्ने भरभराउँदी हिरोइन मर्दा त्यसैको गममा कलेजमा एकदिन पठनपाठन बन्द गराएका थियौ। गाउँमा पनि शाहरुख,सलमान,आमिरका अलगअलग फ्यान हुन्थे। यता ‘शंकर हुँ म – शंकर!’ भन्दै हुँकार भर्ने राजेश हमालका फ्यानको स्वाग छुट्टै।
अन्त्यमा :
फिल्मका जिज्ञासुलाइ व्यवस्थित रुपले खुट्टा टेकाउन TU ले स्नातक तहमा नेपालमै यो कोर्स उपलब्ध गराएको छ।
हजुरहरु सबैलाइ स्वागत छ!!
खगेन्द्र खड्का नेपाल फिल्म क्याम्पस, पिङ्गलास्थान, गौशाला, काठमाडौंमा सम्बद्ध हुनुहुन्छ।
